जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह र प्रदेशसभा सभामुख रामचन्द्र मण्डलबीच आज (शुक्रबार) मुख्यमन्त्री निवासमा भेटघाट भएको छ ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार भेटमा हालैको जेनजी आन्दोलनका क्रममा प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयमा भएको क्षतिपश्चात् पुनर्निर्माण कार्यबारे महत्वपूर्ण छलफल भएको थियो ।
त्यसैगरी, दुवै शीर्ष पदाधिकारीबीच प्रदेशसभाको प्रभावकारी सञ्चालन, विधायकीय कार्यलाई चुस्त बनाउनुपर्ने आवश्यकता तथा समसामयिक राजनीतिक विषयमा समेत विचार–विमर्श भएको सचिवालयले जनाएको छ ।
संविधान दिवसको पृष्ठभूमिमा भएको यो भेटघाटलाई प्रदेशको राजनीतिक स्थायित्व, पुनर्निर्माण र प्रभावकारी प्रशासनिक कार्यान्वयनबारे सकारात्मक कदमका रूपमा लिइएको बताइएको छ ।