जनकपुरधाम । नेकपा एमालेका सचिव रघुवीर महासेठले हालै सम्पन्न जेनजी आन्दोलनको नाममा देशी तथा विदेशी शक्तिहरूले षड्यन्त्र गरी हिंसा भड्काएको आरोप लगाएका छन् ।
संविधान दिवसको अवसरमा नेकपा एमाले धनुषा कार्यसमितिले जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले आगजनी, तोडफोड र लुटपाटमा जेनजी युवाहरूको प्रत्यक्ष संलग्नता नभएको दाबी गरे ।
उनका अनुसार जेनजी युवाहरूले भ्रष्टाचार अन्त्य, सुशासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनेजस्ता जायज माग अघि सारेका थिए। तर उनीहरूको उद्देश्य सत्ता परिवर्तन वा निजी सम्पत्तिमा तोडफोड गर्नु भने थिएन ।
नेता महासेठले आन्दोलन चर्काउन ‘स्नाइपर शुटर’ सम्म प्रयोग गरी युवाको हत्या गरिएको आरोपसमेत लगाए। साथै उनले अन्तरिम सरकारलाई षड्यन्त्रकारी शक्ति पहिचान गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरे ।
उनले एमाले र कांग्रेस नेताको घरमा व्यक्तिगत रिसिइवीका कारण आगजनी गरिएको भन्दै आन्दोलनप्रति सहानुभूति जनाए, तर वास्तविक दोषीलाई छानबिनमार्फत पहिचान गर्नुपर्ने आवश्यकता औंल्याए ।