सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ र ७ वडास्थित वभनगामा जण्डौल–कुशहा सडक मर्मत सम्भारमा स्थानीय युवाहरू जुटेका छन् ।
सडक भत्किएर आवतजावतमा समस्या भएपछि युवाहरू आफैं अग्रसर भएर मर्मतमा लागेका हुन् । नेपाल सरकारले बर्सेनि करोडौं लगानी गरेर सडक स्तरउन्नति गर्ने घोषणा गरे पनि भत्किएको सडकको मर्मत भने स्थानीय युवाहरूले आफ्नै पहलमा गर्नुपर्ने अवस्था आएको छ ।
विगत तीन वर्षदेखि सडकमा उचित ढल निकास नहुँदा वर्षा याममा खाल्डाखुल्डीमा पानी जमेर आवतजावतमा ठूलो समस्या भएको स्थानीय युवा अरुणकुमार यादवले बताए । दशैं–तिहारसहित हिन्दुहरूको महान चाडलाई ध्यानमा राख्दै गाउँ आफैं बनाउने भावना सहित सडक मर्मतमा जुटिएको सहभागी रामनाथ यादवले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डल, वडा नं. ६ का वडाध्यक्ष रोशन सिंह र वडा नं. ७ का वडाध्यक्ष हरिनारायण मण्डललाई पटक–पटक भनिए पनि सुनुवाइ नभएपछि युवाहरूले स्वेच्छिक श्रमदानमार्फत सडक मर्मत थालेको स्थानीय सूर्यनारायण यादवले बताए ।
समाजको विकास र निकासप्रति जनप्रतिनिधिहरूले चासो नदिएको भन्दै युवाहरूले आक्रोशसमेत प्रकट गरेका छन् ।
सडक मर्मत अभियानमा स्थानीय रामप्रसाद मण्डल, रामवाहुर रजक, भक्त नारायण राय, अमिर महतो, जिवछ यादव, विन्देश्वरी यादव, प्रशुराम यादव, रवीन्द्र साह, देवेन्द्र यादव, मनोज रजक, रुपेश यादव, प्रयाग यादव, देवनारायण यादव, शिवनारायण मण्डल, जितेन्द्र मण्डल, विष्णु यादव, अमलेश यादवसहित समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, प्रहरी, किसान, युवा तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले स्थानीयबीचको विवादका कारण विगत तीन वर्षदेखि सडक निर्माण रोकिएको जानकारी दिँदै विवाद समाधान भएलगत्तै निर्माण कार्य अघि बढाइने बताए ।