मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा निरन्तर पहिरो खस्दा केही दिनयता सर्वसाधारण दैनिक सास्ती भोगिरहेका छन् । पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गर्ने प्रयास भए पनि ढुङ्गा खसिरहँदा बाटो बारम्बार अवरुद्ध हुने क्रम रोकिएको छैन ।
दसैँको समयमा बाटो बन्द हुँदा यात्रुहरू निकै मारेमा परेको स्थानीयले बताएका छन् । सडक अवरुद्ध भएपछि तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने वैकल्पिक मार्ग प्रयोग गर्न सकिने भएको छ । गण्डकी प्रदेश सरकारले यस सडकलाई गौरवको योजनामा राखेको छ ।
मुस्ताङदेखि तराइ जोड्ने गरी निर्माण भइरहेको उक्त सडक साना सवारीसाधनका लागि उपयुक्त मानिएको छ । दमौली–खैरेनीटारबाट बायाँतर्फ भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैँडाकोट जोड्ने बाटो प्रयोग गर्न सकिने यात्री प्रकाशचन्द्र भट्टराईले जानकारी दिए। उनका अनुसार मुग्लिनदेखि खैरेनीटारसम्मको दूरी करिब ७० किलोमिटर पर्छ ।
खैरेनीटार–भीमाद सडक सात किलोमिटर कालोपत्रे छ भने भीमाद–मानपुर खण्ड ३५ किलोमिटर कच्ची सडक रहेको छ। मानपुर–डेढगाउँ ४० किलोमिटर कालोपत्रे सडक र डेढगाउँदेखि नारायणगढसम्म करिब ७० किलोमिटर दूरी रहेको छ ।
यस्तै, मोटरसाइकल यात्रीका लागि वैकल्पिक मार्ग पनि प्रयोग भइरहेको छ । धरमपानीका स्थानीय विजय रानाका अनुसार दमौलीबाट केशवटार–सुखौरा–हुस्लाङ–धरमपानी हुँदै झोलुङ्गे पुल पार गरेर मुग्लिन–नारायणगढ सडकखण्डमा निस्किने मार्ग सजिलो भएको छ । मुग्लिनतर्फको बाटो अवरुद्ध भएपछि केही मोटरसाइकल चालकले यही बाटो प्रयोग गर्न थालेका छन् ।