भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार परीक्षामा सहभागी एक लाख ४३ हजार २५७ मध्ये ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएका छन् ।
उनका अनुसार ५९ हजार ६९३ परीक्षार्थी भने अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएका छन् ।
गत वैशाखमा सम्पन्न वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन-ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका तथा परीक्षामा अनुपस्थित विद्यार्थीका लागि गत साउन २९ देखि भदौ ६ गतेसम्म पूरक परीक्षा सञ्चालन गरिएको थियो ।
बोर्डले परीक्षाफल हेर्न IVR/SMS–USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र कक्षा १० को www.see.gov.np मार्फत सुविधा उपलब्ध गराएको छ । बोर्डको वेबसाइटमा परीक्षार्थीले आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर ग्रेडसिट हेर्न तथा डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको छ ।
यस्तै, प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग तथा उत्तरपुस्तिका पुनः परीक्षणका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । इच्छुक परीक्षार्थीले यही २०८२ असोज १९ गतेदेखि २९ गते साँझ ५:०० बजेभित्र बोर्डको वेबसाइटमार्फत पुनर्योग फाराम भरी आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।