नेपालीहरूको महान चाड बडा दशैँको सातौँ दिन फूलपाती पर्व आज परम्परागत हर्षोल्लासका साथ मनाइँदैछ ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापनासहित सुरु भएको नवदुर्गा भवानीको पूजाआजाअन्तर्गत सप्तमीका दिन वीरगंजको ऐतिहासिक गहवामाई मन्दिरमा विशेष विधिपूर्वक फूलपाती भित्र्याइएको हो ।
वीरगंजमा सदियौँ पुरानो परम्परा आज पनि निरन्तर रहँदै आएको छ । परम्पराअनुसार छपकैयास्थित मालपोत कार्यालयको दशैँघरबाट फूलपाती ल्याउने विशेष विधि सम्पन्न गरिएको थियो । नेपाली सेनाको टुकडीले शुभ साइतको प्रतीक मानिने फूलपातीलाई गहवामाई मन्दिरसम्म पुर्याएको थियो । यस अवसरमा सेनाको ब्यान्ड बाजा र तोपको सलामीले वीरगन्जको वातावरणलाई भक्तिमय बनाएको थियो ।
वैदिक परम्पराअनुसार शक्तिको प्रतीक मानिने नौ देवीको स्वरूपमा नवपत्रिकाको पूजा गरिन्छ । आज घर–घर र मन्दिरहरूमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूललगायत नौ प्रकारका नयाँ पालुवा भित्र्याइएको छ ।
फूलपाती भित्र्याउने यस विशेष समारोहमा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, प्रहरी उपरीक्षक सुदीपराज पाठक, स्थानीय समाजसेवी, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।