काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।
आयोगको सोमबार बसेको बैठकले उक्त कार्यतालिका स्वीकृत गरेको हो। स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता कार्यक्रम सञ्चालन हुनेछ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।
फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचार–प्रसारको समय रहने र त्यसपछि प्रचार निषेध अवधि लागू हुने आयोगले जनाएको छ । निर्वाचन फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। दुवै प्रणालीका मतपेटिका संकलन भएपछि मतगणना सुरु गरिने कार्यक्रम रहेको छ ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । आयोगले स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा राजनीतिक दल र सरोकारवालासँग समय समयमा परामर्श तथा छलफल गर्ने बताएको छ ।
त्यस्तै आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ देखि १० गतेसम्म निर्धारण गरिएकोले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने स्पष्ट गरेको छ ।
निर्वाचनमा भाग लिन इच्छुक सरोकारवालाले कात्तिक ३० अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
