काठमाडौँ । मलेसियाविरुद्धको महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा नेपालले शानदार जित हासिल गरेको छ ।
मलेसियामा सोमबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गरेको हो। यो जितसँगै पाँच खेलको शृंखलामा नेपाल र मलेसिया २–२ को बराबरीमा पुगेका छन् ।
यसअघि पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले जितेको थियो। तेस्रो खेलमा नेपाल १३ रनले हार व्यहोरेको थियो ।
आजको खेलमा मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य नेपालले १७.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कप्तान इन्दु बर्मा अविजित ४८ रन (३९ बल) र रुबिना क्षेत्रीले २३ रन (२३ बल) बनाइन् ।
मलेसियाको तर्फबाट नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एक–एक विकेट लिएका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १११ रन बनाएको थियो।
उसका लागि मास एलिसा अविजित ५६ रन, माहिरा १८ रन, र नुर दानिया १५ रन बनाएकी थिइन् । नेपालकी कविता कुँवरले तीन विकेट लिइन् भने पूजा महतो र कविता जोशीले समान एक–एक विकेट लिएका थिए ।
अब शृंखलाको अन्तिम तथा निर्णायक खेल बुधबार खेलिनेछ ।