काठमाडौँ | पछिल्ला वर्षहरूकै भीषण सीमा संघर्षपछि अफगानिस्तान र पाकिस्तानबीच ४८ घण्टे युद्धविराम गर्ने सहमति भएको छ । गत हप्ता अफगान राजधानी काबुल र पाक्तिका प्रान्तमा भएका हवाई आक्रमणपछि दुबै देशबीचको सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको थियो ।
अफगान तालिबान सरकारले ती आक्रमणको आरोप पाकिस्तानमाथि लगाएको छ, तर इस्लामाबादले औपचारिक रूपमा जिम्मेवारी स्वीकृत गरेको छैन । दुबै देशले बुधबार अपराह्नदेखि अस्थायी युद्धविराम लागू भएको पुष्टि गरेका छन् ।
संघर्षमा दुवै पक्षले ठूलो जनहानिको दाबी गरेका छन् । पाकिस्तानले दुई सयभन्दा बढी तालिबान लडाकू मारिएको जनाएको छ भने तालिबानका अनुसार ५८ पाकिस्तानी सैनिक मारिएका छन्। यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन् ।
शनिबार राति तालिबानले कुनार र नंगरहार क्षेत्रमा पाकिस्तानी सेनामाथि प्रत्याक्रमण गरेको दाबी गरेको थियो । त्यसपछि पाकिस्तानले अफगान भूमिमा रहेको तालिबान शिविर र आतङ्कवादी प्रशिक्षण केन्द्रहरूमा हवाई प्रहार गरेको जनाएको छ ।
संघर्षका क्रममा काबुलमा भएका विस्फोटमा पाँच जनाको मृत्यु र करिब ४० जना घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया :
चीन, रसिया, साउदी अरेबिया र कतारले तत्काल तनाव कम गर्न आग्रह गरेका छन्, जबकि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशबीच शान्तिका लागि मध्यस्थता गर्न प्रस्ताव गरेका छन्।
अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध लामो समयदेखि अस्थिर रहँदै आएको छ । दुरन्द रेखा (Durand Line) नामक सीमाक्षेत्रमा बारम्बार झडप हुने गरेको छ । पाकिस्तानले अफगान भूमिमा पाकिस्तान तालिबान (TTP) लुकेको आरोप लगाउँदै आएको छ, तर अफगान तालिबानले त्यसलाई अस्वीकार गरेको छ ।
शनिबारको भिडन्तपछि पाकिस्तानले अफगानिस्तानसँगका दुई प्रमुख सीमा नाका बन्द गरेको छ ।
इस्लामाबादले भनेको छ, “कूटनीति हाम्रो प्राथमिकता हो, तर अफगान भूमिबाट हुने आतङ्कवादी कारबाही सह्य छैन ।”
यो तनाव तालिबानका परराष्ट्र मन्त्री आमिर खान मुत्तकीको भारत भ्रमणपछि देखिएको हो । भारतले हालै काबुलमा पुनः दूतावास खोल्ने घोषणा गर्दै तालिबानसँग सम्बन्ध सुदृढ पार्ने संकेत दिएको छ । विश्लेषकहरूका अनुसार यसले दक्षिण एसियाली भू–राजनीतिमा नयाँ शक्ति सन्तुलनको खेल सुरु गरेको छ ।