सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि रोकिएको ओभरपास निर्माण कार्य पुनः सुरु गरिएको छ ।
गत असारको अन्तिम सातादेखि रोकिएको ओभरपासको काम असोज २३ गतेदेखि फेरि सुरु भएको हो। लहान मुख्य चोकमा निर्माण भइरहेको ओभरपासको ३५ मिटर गहिराइमा २६ वटा पाइल फाउन्डेसन पूरा भइसकेको भए पनि अन्य संरचनाको ढिलाइका कारण चोक क्षेत्र अस्तव्यस्त बनेको छ ।
स्थानीय व्यवसायी डम्बर घिमिरेका अनुसार, “निर्माण ठप्प हुँदा सवारी आवागमन अस्तव्यस्त भएको छ, धुलो र हिलोले व्यापार गर्न पनि मुस्किल परेको छ ।”
सहिद स्मारक भत्काएपछि एकतर्फी सवारीका लागि डाइभर्सन व्यवस्था गरिए पनि दुर्घटनाको जोखिम, धुलो र हिलोले जनजीवन प्रभावित भएको छ । गत असारमा स्थानीयले यसै कारण चक्काजामसमेत गरेका थिए ।
निर्माण कम्पनी चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुपले काम गरिरहेको उक्त परियोजना कञ्चनपुर–कमला सडक विस्तार आयोजना (पश्चिम खण्ड) अन्तर्गत पर्छ ।
आयोजनाका सूचना अधिकारी इन्जिनियर सरोजकुमार कोइरालाका अनुसार लहान खण्डमा निर्माण ढिलो हुनुका मुख्य कारण स्थानीय आन्दोलन, चाडपर्व र भीषण वर्षा हुन् ।
उनका अनुसार, “अन्डरपास, ओभरपास र अकासे पुलको पाइल फाउन्डेसन नगरी अन्य काम गर्नै नसकिने बाध्यताले पनि सडक निर्माणमा ढिलाइ भएको हो ।”
त्यसबाहेक सडक क्षेत्रमा रहेका बिजुलीका पोल समयमा नहटाइँदा काम अझ प्रभावित भएको उहाँको भनाइ छ ।
निर्माणाधीन ओभरपासको लम्बाइ पाँच सय पचास मिटर, ग्राउन्ड क्लियरेन्स छ मिटर र उचाइ अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने जनाइएको छ ।
सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमला नदीसम्मको ८६.८३ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्न रु १५ अर्ब ६६ करोड लागतमा सन् २०२० मा ठेक्का सम्झौता गरिएको थियो । हालसम्म ११२ वटा कल्भर्ट र २५ वटा पुलको ढलान पूरा भइसकेको छ भने १२ पुल सवारीका लागि खुलेका छन् । तर, म्याद सकिन दुई महिना मात्र बाँकी रहँदा समग्र प्रगति ६७ प्रतिशतमा सीमित रहेको निर्माण कम्पनीले जनाएको छ ।