रौतहट | रौतहटको सदरमुकाम गौरस्थित बीपी चोकमा आइतबार नयाँ घण्टाघर भव्य समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ । गौर नगरपालिकाका मेयर शम्भु साहले रिबन काटेर घण्टाघरको उद्घाटन गरेका थिए ।
उद्घाटनका क्रममा मेयर साहले घण्टाघरको बीचमा स्थापित माता दुर्गाको प्रतिमामा माला र अबिर चढाउँदै नगरको शान्ति, एकता र समृद्धिको कामना गरे । नगरपालिकाले १ करोड ५३ लाख ६० हजार ६१६ रुपैयाँमा “राष्ट्र निर्माण सेवा राजदेवी”सँग निर्माण सम्झौता गरेको थियो। निर्माण कम्पनीले २०८१ पुस ३० गते निर्माण कार्य सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
स्मरणीय कुरा के हो भने, प्रारम्भमा बीपी कोइरालाको सालिक यहाँ स्थापना गरिएको थियो । तर जेनजी आन्दोलनका क्रममा सालिक भत्किएपछि माता दुर्गाको प्रतिमा स्थापना गरी पूजा-पाठ सुरु गरिएको थियो ।
मेयर साहले घण्टाघर गौर नगरवासीको साझा सम्पत्ति भएको बताउँदै यसको संरक्षणमा सबैको जिम्मेवारी रहेको उल्लेख गरे । साथै, नगरको समग्र विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा उनले जोड दिएका छन् ।