सप्तरी । सप्तरी प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
सप्तरीको नगरपालिका–२, भेडिया नजिक गाईघाट–कदमाहा सडकखण्डमा आइतबार राति चेकजाँचका क्रममा प्रहरीले ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले सप्तरीको दक्षिण कदमाहाबाट उत्तर गाईघाटतर्फ जाँदै गरेको ब.प्र. ०१–०२८ च ५००८ नम्बरको सेतो टोयोटा हाईलेक्स गाडी रोकेर जाँच गर्दा गाडीभित्र दुई जना सवार भेटिएका थिए ।
पक्राउ पर्नेमा झापा दमक नगरपालिका–५ का २७ वर्षीय किरण सिटौला र सोही गाडीमा सवार १८ वर्षीय धिरज प्रसाई रहेका छन्। उनीहरूको साथबाट २३ लाख रुपैयाँ नगदसहित विभिन्न सामग्रीहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद रकममा एक हजार दरका १,३९९ थान र पाँच सय दरका १,८०२ थान नोट रहेको बताइएको छ। साथै, गाडीभित्रबाट टेकोन पम्प १०० थान, टीएनइएच ब्याट्री ३४ थान, लिथियम ब्याट्री एक थान, ई–रिक्सा मोटर तीन थान, स्कुटर ब्याट्री चार्जर सात थान, ब्याट्री टेस्टर एक थान र सानो हर्न स्पिकर एक थान फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार स्रोत नखुलेको उक्त रकम र सामग्रीसहित पक्राउ परेकामाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ ।
सप्तरी प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार, जिल्ला अदालत सप्तरीबाट थप अनुसन्धानका लागि दुवै जनामाथि तीन दिनको म्याद थप गरिएको छ ।