कात्तिक शुक्ल पूर्णिमाको अवसरमा सिरहाको पश्चिमवर्ती कमला नदीमा बिहानैदेखि हजारौँ श्रद्धालुहरूको घुइँचो लागेको छ ।
परम्परागत रूपमा भूत–प्रेत निवारण र आत्मशुद्धिका लागि मनाइने ‘कमला स्नान’ पर्वमा सहभागी हुन सिरहा, धनुषा, सर्लाही, महोत्तरी, उदयपुर, सप्तरीसहित भारतको बिहार राज्यबाट समेत भक्तजनहरू कमला नदीमा पुगेका छन् । सिरहा र धनुषाकाे सिमानास्थित कमला नदीका विभिन्न घाटहरू छन् । उत्तरवाहिणी ब्यारेज, कमला पुल, सिक्रौन, चतरी, बेलहा, बडेर्वा, पटेर्वा र बसबिट्टा हुँदै भारतको जयनगर क्षेत्रसम्म धार्मिक गतिविधि सुरु भएको स्थानीय प्रशासनले जनाएको छ ।
यस दिनमा धामी–झाँक्री र तिनका अनुयायीहरूले बाँस वा बेतको लठ्ठी, धुपौरो, र दीप लिएर काम्दै नदीमा स्नान र पूजापाठ गर्ने गर्दछ । कमला नदीमा स्नान गरेपछि शरीर र मनमा रहेको नकारात्मक उर्जा, मानसिक अशान्ति र अपशकुनबाट मुक्ति मिल्ने विश्वास रहदै अाएकाे छ ।
कर्जन्हा नगरपालिका–१ मा पर्ने कमला नदीको उत्तरवाहिणी क्षेत्रमा विशेष गरी महिलाको सहभागिता उल्लेखनीय हुने गर्दछ । उनीहरूले पहेंलो साडी लगाएर बलिरहेको धुपौरो बोकी काम्दै नदीमा स्नान गर्छन्, जसलाई धार्मिक साधना र शुद्धिकरणको प्रतीकका रूपमा लिइन्छ ।
स्थानीय वृद्धवृद्धाहरूका अनुसार, यो परम्परा कम्तीमा दुई शताब्दी पुरानो सांस्कृतिक अभ्यास हो । उनीहरूका अनुसार, “कमला स्नान” मूलतः चन्द्रमास अनुसार पूर्णिमाको दिनमा हुने आत्मशुद्धि र ‘आत्मिक सन्तुलन’ प्राप्तिको विधि हो ।
जिल्ला प्रशासन कार्यालय सिरहाले भक्तजनहरूको भीडलाई व्यवस्थापन गर्न स्थानीय प्रशासन, प्रहरी र ट्राफिक प्रहरीलाइ खटाइएको छ। कमला नदीको उत्तरवाहिणी र ब्यारेज क्षेत्रहरूमा जनसहभागिता अत्यधिक भएकाले सुरक्षालाई उच्च प्राथमिकता दिइएको प्रहरीले जनाएकाे छ ।
यस अवसरमा स्थानीय व्यापारी र सामुदायिक समूहहरूले निःशुल्क खानेपानी, चियापान तथा स्वास्थ्य शिविरको व्यवस्था समेत गरेका छन् ।
कमला स्नान केवल धार्मिक अनुष्ठान होइन, यो सीमापारको सांस्कृतिक सम्बन्धको प्रतीक पनि हो । “नेपाल र भारतका सीमावर्ती समुदायबीच धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध यस पर्वमार्फत अझ मजबुत बन्दै गएको यस भेगका अग्रजहरूकाे विश्वास छ ।
धार्मिक अनुष्ठान सूर्यउदयसँगै सामूहिक आरती र परिवारको कल्याणका कामनासहित भाेलि पल्ट सम्पन्न हुने गर्दछ ।