जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–२ कल्चरल भिलेजमा तेस्रो संस्करणको सर्प महोत्सव सुरु भएको छ । मिथिला वाइल्ड लाइफ ट्रस्ट र सेभ द लाइभ्सको संयुक्त आयोजनामा शुरू गरिएको महोत्सव सर्प–मानव सहअस्तित्व, जैविक विविधता संरक्षण, र पर्यावरणीय सन्तुलनमा सर्पको भूमिकामाथि केन्द्रित हुनेछ ।
‘सर्पको महत्त्व बुझौँ, सहअस्तित्वलाई सम्मान गरौँ, संरक्षणमार्फत भविष्य सुरक्षित गरौँ’ भन्ने मूल नारासहित सुरु भएको महोत्सवको उद्देश्य नागरिकमा सर्पप्रति रहेको डर, भ्रम र अन्धविश्वास हटाउँदै वैज्ञानिक जानकारीमार्फत सर्प संरक्षणबारे जनचेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ ।
मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले सर्पलाई अझै पनि गलत रूपमा बुझ्ने चलन भएकाले जनस्तरमा सही ज्ञान पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।
उनका अनुसार, “सर्प केवल डस्ने जीव होइन, वातावरणीय सन्तुलन कायम राख्ने अत्यन्त महत्वपूर्ण प्रजाति हो,” भन्ने सन्देश महोत्सवमार्फत प्रवाह गरिएको छ ।
महोत्सवमा सर्पको जीवनचक्र, विषका प्रकार, सर्पदंशपछि अपनाउनुपर्ने उपचार प्रक्रिया, र उद्धार प्रविधिबारे व्यावहारिक प्रदर्शन गरिएको छ । साथै, जीवित सर्प प्रदर्शनी र चित्र प्रदर्शनीमार्फत सहभागीलाई प्रत्यक्ष अवलोकन र सिकाइको अवसर प्रदान गरिएको छ ।
अध्यक्ष मण्डलले महोत्सवको उद्देश्यबारे थप स्पष्ट गर्दै भने— “सर्प–मानव द्वन्द्व न्यूनीकरण गर्दै यसको पर्यावरणीय, चिकित्सकीय, धार्मिक तथा सांस्कृतिक महत्त्व उजागर गर्नु महोत्सवको मुख्य लक्ष्य हो ।”
स्थानीय नागरिक तथा पर्यावरणविद्हरूले यस महोत्सवले सर्प संरक्षण र जैविक विविधता अभियानलाई जनस्तरमा प्रभावकारी रूपमा पुर्याउन सहयोग पुगेको बताउँदै सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन् ।