काठमाडौं | गृहमन्त्री ओमप्रकाश अर्यालसँग मधेस प्रदेशका गृह, कानुन तथा सञ्चार मन्त्री विमला अन्सारीले मंगलबार भेटवार्ता गर्नुभएको छ ।
भेटवार्तामा मधेस प्रदेशको समग्र शान्ति–सुरक्षा, अपराध नियन्त्रण र प्रदेश–सङ्घीय सुरक्षा समन्वयलाई थप मजबुत बनाउने विषयमा गहन छलफल भएको छ ।
गृहमन्त्री अर्यालले मधेस प्रदेशको सुरक्षा सुदृढ गर्न केन्द्र सरकारले पूर्ण रूपमा प्रतिबद्ध रहेको र सङ्घ र प्रदेशबीचको सहकार्यलाई अझ बलियो बनाइने विश्वास दिलाउनुभएको छ । साथै, तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने सरकारको अटल प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ ।
उहाँले प्रदेशको सुरक्षा व्यवस्थापनमा सहजता ल्याउन प्रहरी समायोजन ऐन कार्यान्वयनको प्रक्रियामा शीघ्रता दिने आश्वासन पनि दिनुभएको जानकारी गृहमन्त्रीको सचिवालयले सार्वजनिक गरेको छ ।