वीरगञ्ज भंसार कार्यालयमा कार्यरत भंसार एजेन्टहरूले भंसार जाँचपास नगरी कलम बन्द गरेपछि उत्पन्न समस्याप्रति वीरगञ्ज उद्योग वाणिज्य सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।
सङ्घका अनुसार भंसार एजेन्टहरूले नयाँ भंसार ऐन, २०८२ का केही दफाहरूले भंसार एजेन्टहरूको हकहित तथा पेशामाथि असहज अवस्था सिर्जना गरेको तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर परेको विज्ञप्ति मार्फत भनेका छन् । भंसार ऐनबाट उत्पन्न समस्या तत्काल समाधान गर्न माग गर्दै माग पूरा नभएसम्म कलम बन्द गर्ने निर्णय गरिएको जनाएको छ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले भंसार एजेन्ट महासङ्घले उठाएका मागहरू न्यायोचित रहेको निष्कर्ष निकाल्दै सरकारसँग तत्काल हस्तक्षेप गरी समस्या समाधान गर्न आग्रह गरेको छ । सङ्घले उदार अर्थनीतिको सन्दर्भमा अनुदार भंसार नीति ल्याएर अघि बढ्न नमिल्ने स्पष्ट गरेको छ ।
सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले दण्ड–जरिवाना मात्र थोपरेर व्यापार–व्यवसाय विस्तार सम्भव नहुने उल्लेख गर्दै भंसार सुधारका लागि भंसार एजेन्ट महासङ्घले उठाएका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेका छन् ।