सिरहा । लहानस्थित रामकुमार शारडा–उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा रजिष्ट्रेशन हुने बाटो खुलेको छ । पछिल्लो दुई वर्षदेखि रजिष्ट्रेशनमा अवरोध बनेको एक करोड रुपैयाँभन्दा बढी लाभकर नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयमार्फत मिनाहा भएपछि रजिष्ट्रेशन प्रक्रिया अघि बढ्ने भएको हो ।
२०३७ सालमा लहानका प्रतिष्ठित उद्योगपति रामकुमार शारडा र उमाप्रसाद मुरारकाले एक बिघा १५ कठ्ठा १० धुर जग्गा दान गर्नुका साथै अस्पतालको भवनसमेत निर्माण गरिदिएका थिए । तर दाता परिवारका पवनकुमार शारडा र मुरारीलाल मुरारकाका नाममा रहेको उक्त जग्गा लामो समयसम्म रजिष्ट्रेशन हुन नसक्दा मधेश प्रदेश सरकारलाई अस्पतालको भौतिक संरचना निर्माण तथा स्तरोन्नतिमा समस्या हुँदै आएको थियो ।
दाता परिवारका तर्फबाट मुरारीलाल मुरारकाले मालपोत कार्यालय लहानमा आवश्यक कागजात पूरा गरे पनि करिब एक करोड ३४ लाख रुपैयाँ राजस्व लाग्ने जानकारी आएपछि रजिष्ट्रेशन प्रक्रिया रोकिएको थियो । उक्त लाभकर मिनहाका लागि मधेश प्रदेश सरकारले सङ्घीय सरकारअन्तर्गत अर्थ मन्त्रालयमा सिफारिस गरे पनि मन्त्रिपरिषद् निर्णय नआउँदा काम अघि बढ्न सकेको थिएन ।
जेनजी आन्दोलनपछि गठित सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले अस्पतालको जग्गा रजिष्ट्रेशन प्रक्रिया अघि बढाइने प्रतिबद्धता अस्पतालमै पुगेर व्यक्त गर्नुभएको थियो । सोही अनुसार गत मङ्सिर २९ गते बसेको मन्त्रिपरिषद् बैठकले लाभकर मिनाहा गर्ने निर्णय गरेपछि रजिष्ट्रेशनको बाटो खुलेको अस्पताल विकास समितिका अध्यक्ष रामनारायण मेहताले जानकारी दिनुभयो ।
यता दाता परिवारका तर्फबाट मुरारीलाल मुरारकाले मन्त्रिपरिषद् निर्णयप्रति खुसी व्यक्त गर्दै दुई वर्षदेखि अड्किएको काम वर्तमान सरकार तथा युवा तथा खेलकुद मन्त्रीको पहलमा सफल भएको बताउनुभयो । “अब अस्पतालको जग्गा रजिष्ट्रेशन प्रक्रिया अघि बढ्नेछ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार अस्पताल विकास समितिमा दाता परिवारको तर्फबाट दुई सदस्य मनोनीत हुनुपर्ने मागप्रति मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सकारात्मक देखिएको छ । यसले अस्पतालको थप स्तरोन्नतिका लागि दाता परिवारले आगामी दिनमा अझै लगानी गर्न तयार रहेको उहाँले बताउनुभयो ।