वीरगंज | जेनजी आन्दोलनका क्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको निजी घरमा आगजनी गरेको आरोपमा पक्राउ परेका हिन्दुवादी नेता रन्जन सिंह राजपुत रिहा भएका छन् ।
अनुसन्धानका लागि बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय पर्सामा बोलाइएका बेला वीरगंज महानगरपालिका–१० रानीघाट निवासी ४१ वर्षीय राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच मंसिर २४ गते भएको १० बुँदे सम्झौताअनुसार जेनजी आन्दोलनमा सहभागी भएकै आधारमा कसैलाई प्रहरी हिरासतमा राख्न नपाइने व्यवस्था रहेकाले राजपुतलाई रिहा गरिएको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक पाठकका अनुसार उक्त सम्झौतामा आवश्यक परे बयानका लागि पुनः बोलाउन सकिने उल्लेख छ। “राजपुतविरुद्धको मुद्दा समाप्त भएको होइन । अनुसन्धान जारी छ र आवश्यकता परे उनलाई फेरि बयानका लागि बोलाइनेछ,” उहाँले स्पष्ट पार्नुभयो । बिहीबार राजपुतलाई बयानकै प्रयोजनका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको उहाँले बताउनुभयो ।
मेयर सिंहको निजी घरमा भदौ २४ गते भएको तोडफोड, आगजनी तथा लुटपाट घटनामा संलग्न रहेको आरोप लगाउँदै मेयर सिंहले राजपुतसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरेपछि पर्सा जिल्ला अदालतबाट राजपुतसहितका विरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। उक्त पुर्जीका आधारमा अनुसन्धानका लागि बिहीबार बिहान राजपुतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसअघि बिहीबार दिउँसो जेनजी तथा हिन्दुवादी युवाहरूले राजपुतको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि टायर बालेर प्रदर्शन गरेका थिए । उनीहरूले राजपुत निर्दोष रहेको दाबी गर्दै तत्काल रिहा नगरे अझ सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा वीरगंजमा सार्वजनिक तथा निजी सम्पत्तिमा व्यापक तोडफोड, आगजनी र लुटपाट भएको थियो । उक्त घटनामा वीरगंज महानगरपालिकाको कार्यालय, वडा नम्बर १०, १४ र २६ का कार्यालय, रानीघाट प्रहरी चौकी, अस्थायी प्रहरी पोस्ट घण्टाघर, शिव–पार्वती मठ, आन्तरिक राजस्व कार्यालय, नेपाल टेलिकमको कार्यालय तथा नेपाली कांग्रेस र नेकपा एमालेका पार्टी कार्यालयमा क्षति पुगेको थियो ।
त्यसै दिन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, पूर्वमन्त्रीहरू प्रदीप यादव, अजय चौरसिया र राजकुमार गुप्ता, मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको निजी घरमा समेत तोडफोड, आगजनी र लुटपाट गरिएको थियो ।