नेपाल र भारतबीच पर्यटन सहकार्य विस्तार गर्ने उद्देश्यसहित पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डले काठमाडौँस्थित भारतीय दूतावास तथा पोखरा पर्यटन परिषद्को सहकार्यमा सन् २०८२ मा आयोजना गरेको उक्त कार्यक्रम विशेषतः भारतको उत्तर प्रदेश र नेपालको गण्डकी प्रदेशबीच पर्यटन साझेदारी सुदृढ गर्ने विषयमा केन्द्रित थियो ।
गण्डकी प्रदेशको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी वर्षसमेत मनाइएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा र मुक्तिनाथ क्षेत्रलाई केन्द्रमा राख्दै भारतसँग बढ्दो पर्यटन सहकार्यलाई सकारात्मक र स्वागतयोग्य कदमका रूपमा उल्लेख गरे । उनले क्षेत्रीय सहकार्यले गण्डकी प्रदेशको पर्यटन विकासमा नयाँ सम्भावना खोल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा भारतीय दूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेले कनेक्टिभिटीमा आएको सुधारले अन्तरदेशीय पर्यटनलाई नयाँ गति दिएको बताए । उनले नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किटहरूको संयुक्त प्रवर्द्धन अपरिहार्य रहेको उल्लेख गर्दै सीमा क्षेत्र केन्द्रित पर्यटनलाई व्यवस्थित रूपमा अघि बढाउन दुवै पक्षबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे ।
यस अवसरमा उत्तर प्रदेश पर्यटनका सहनिर्देशक दिनेश कुमारले उत्तर प्रदेशका प्रमुख पर्यटन सर्किटहरूबारे प्रस्तुति दिएका थिए । उनले आगामी माघ मेलालाई विशेष आकर्षणका रूपमा प्रस्तुत गर्नुका साथै प्रदेशमा पर्यटन नीति कार्यान्वयनका क्रममा अपनाइएका अभ्यासहरूबारे जानकारी गराए ।
कार्यक्रमअन्तर्गत आयोजित बी–टु–बी (B2B) सत्रमा भारतबाट करिब १० जना तथा नेपालबाट ६० जना पर्यटन व्यवसायी तथा टुर अपरेटरहरूको सहभागिता रहेको थियो । छलफलमा स्थलमार्गमार्फत हुने अन्तरदेशीय पर्यटन प्रवर्द्धन, बौद्ध सर्किट, वन्यजन्तु, साहसिक तथा आध्यात्मिक पर्यटन क्षेत्रमा सम्भावित सहकार्यका विषयमा केन्द्रित संवाद भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यसै कार्यक्रमको निरन्तरताका रूपमा नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को सहकार्यमा उत्तर प्रदेशका प्रतिनिधिमण्डलका लागि २०८२ मंसिर २९ देखि पौष २ गतेसम्म परिचयात्मक भ्रमण (फ्याम ट्रिप) आयोजना गरिएको थियो । उक्त भ्रमणमार्फत पोखरा तथा आसपासका पर्यटन गन्तव्यहरूको प्रत्यक्ष अनुभवले नेपाल–भारत पर्यटन सहकार्यलाई व्यवहारिक तहमा विस्तार गर्ने अपेक्षा गरिएको बोर्डले जनाएको छ ।
नेपाल पर्यटन बोर्डले यस्ता क्षेत्रीय तथा अन्तरदेशीय कार्यक्रमहरूले नेपाल–भारतबीचको पर्यटन सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।