लहान नगरपालिका–२३ गढिया चोक सिरहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लहान नगरपालिका–२३ निवासी ३६ वर्षीय बिजय कुमार साह र ३१ वर्षीय सुरेन्द्र कुमार दास रहेका छन् । उनीहरूको साथबाट करिब १६ ग्राम ५ सय मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार तथा स्थानीय प्रहरीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।