बर्दिबास नगरपालिका–६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन क्षमता भएको सौर्य ऊर्जा आयोजना निर्माण सुरु भएको छ । टेरा सोल इनर्जी कम्पनीले नेपाल विद्युत् प्राधिकरणको स्वीकृत परियोजनाअनुसार काम सुरु गरेको हो ।
उक्त आयोजनाको लागत १ अर्ब २० करोड रुपैयाँ अनुमान गरिएको छ । बर्दिबास–६ र ७ का ८० भन्दा बढी किसानले ४० बिघा जग्गा ३० वर्षको भोगाधिकारसहित भाडामा दिई निर्माण कम्पनीले काम सुरु गरेको हो ।
कम्पनीका कार्यकारी निर्देशक पूजा चन्दका अनुसार, “छ महिनाभित्र २० मेगावाट विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रिड महाशाखालाई हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ । यहाँ उत्पादन हुने विद्युत् महोत्तरी र धनुषाका १० हजारभन्दा बढी परिवारले उपभोग गर्नेछन् ।”
आयोजनाको शिलान्यास मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार एक समारोहबिच गरेका थिए । मुख्यमन्त्री यादवले सौर्य ऊर्जा उत्पादनलाई मुलुकको विद्युतीय ऊर्जा समृद्धिको मुख्य आधारमध्ये एक भएको उल्लेख गर्दै, आयोजना निर्माणमा प्रदेश सरकार आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए ।
कम्पनी र किसानबीच बर्दिबास–६ वडा कार्यालयको रोहबरमा सम्झौता भएको छ । सम्झौताअनुसार कम्पनीले प्रतिकट्ठा जग्गाको वार्षिक भाडा ४ हजार २५० रुपैयाँ दिनेछ र प्रत्येक दुई वर्षमा १० प्रतिशत वृद्धि गर्ने व्यवस्था गरिएको छ ।
आयोजनामा चार वटा ट्रान्सफर्मर, ६८ वटा इन्भर्टर र ३ लाख ३३ हजार सौर्य प्यानल प्रयोग गरिनेछ । ढल्केबर ग्रिड महाशाखाका प्रमुख श्रीनारायण मण्डलका अनुसार, “सौर्य ऊर्जा प्लान्ट जडानमा वातावरणीय प्रतिकूल प्रभाव नगर्ने र कम समयमा उत्पादन लिन सकिने भएकाले यो प्रभावकारी आयोजना हुनेछ ।”
सौर्य ऊर्जा आयोजनाले स्थानीय किसान र जनताको लागि रोजगारीका अवसर पनि सिर्जना गर्नेछ । बर्दिबास–७ का किसान जगन्नाथ महतोले भने, “सिँचाइ नभएको बाँझो जग्गाको उपयोग हुनुका साथै हामी आर्थिक रूपमा पनि लाभान्वित भएका छौँ ।”