सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–४ स्थित बनौलीमा शुक्रबार पूर्वपश्चिम हुलाकी राजमार्गको एक खण्ड सडक अवरुद्ध गरिएको छ । लामो समय सडक खनेर अधुरो अवस्थामा छोडिँदा दुर्घटनाको जोखिम बढेपछि स्थानीयबासी सडक अवरुद्ध गर्न बाध्य भएका हुन् ।
विहान ११ बजेदेखि बाँस, बाँसको कर्ची, ढुङ्गा र मुढा बाटोमा राखेर विरोध प्रदर्शन गर्दा उक्त सडक हुँदै जाने सवारीसाधन रोकिएका थिए ।
स्थानीय राम सुकुमार यादवका अनुसार, “सडक खनेर अलपत्र छोड्दा धुलो, उड्ने धुलो र दैनिक दुर्घटनाले हामी हैरान भएका छौँ, त्यसैले आन्दोलन गर्न बाध्य भयौँ ।”
स्थानीय रामकृष्णा यादवले भने, “सडक डिभिजन, स्थानीय जनप्रतिनिधि र निर्माण कम्पनीलाई पटकपटक ध्यानाकर्षण गराए पनि सुनुवाइ भएको छैन ।”
रामविलास यादवले वर्षौंदेखि सडक अधुरो रहँदा घर वरिपरि धुलो र हिलोले वातावरण दुषित भएको र स्वास्थ्यमा समस्या आएको बताए । ललन शर्माले चेतावनी दिएका छन्, “अविलम्ब सडक निर्माणको ग्यारेन्टी नभएसम्म सडक अवरुद्ध जारी रहनेछ ।”
स्थानीय प्रविण यादवले भने, “शान्तिपूर्ण आन्दोलनबाट माग सम्बोधन नभए थप सशक्त आन्दोलन गरिनेछ ।”
यस सडकखण्डको बनौलीदेखि डिमनसम्मको ५०० मिटर सडक निर्माण अधुरो छोडिँदा आवतजावतमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन् ।