बाक्लो हुस्सुका कारण शुक्रबार बिहानैदेखि सिमरा विमानस्थल पूर्ण रूपमा ठप्प भएको छ । मौसम सफा नहुँदा विमानस्थल सञ्चालनमा आउन नसकेको हो ।
विमानस्थल बन्द हुँदा सिमरा–काठमाडौं रुटका सबै उडान प्रभावित भएका छन् । काठमाडौं नजिकै अवस्थित सिमरा विमानस्थलबाट दैनिक रूपमा बुद्ध एयरका पाँच वटा उडान सञ्चालन हुने गरेकोमा आज बिहानदेखि सबै उडान रद्द भएका छन् ।
बुद्ध एयर सिमराका प्रमुख सुरेश रेग्मीका अनुसार बाक्लो हुस्सुका कारण दृश्यता अत्यन्तै कम हुँदा उडान सञ्चालन गर्न सम्भव नभएको हो । “मौसममा सुधार नआएसम्म उडान सुरु गर्न सकिने अवस्था छैन,” उनले बताए । विमानस्थल बन्द हुँदा यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् भने काठमाडौं जानुपर्ने यात्रुहरू वैकल्पिक यातायातको खोजीमा छन् ।
मौसम सुधारिएपछि मात्रै उडान सञ्चालन हुने विमानस्थल प्रशासनले जनाएको छ ।