पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी–बर्दिबास सडक खण्डको जङ्गल क्षेत्र हुँदै यात्रा गर्ने यात्रुहरूले अब मोबाइल नेटवर्क नआउने समस्याबाट राहत पाउने भएका छन् ।
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले यात्रु सुरक्षाका हिसाबले संवेदनशील मानिएको यस सडक खण्डको करिब ८ किलोमिटर क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गरेको छ । यससँगै अब उक्त मार्ग हुँदै यात्रा गर्ने यात्रुहरूले मोबाइल नेटवर्क कभरेज पाउने एनसेलले जनाएको छ ।
एनसेलका अनुसार पूर्व–पश्चिम राजमार्गको जङ्गल क्षेत्रमा सेवाको उपलब्धता सुनिश्चित गर्न थप स्थानमा टावर जडान गरी सेवा विस्तार गर्ने विषयमा सम्भाव्यता अध्ययन भइरहेको छ । वन क्षेत्रमा नयाँ टावर जडान गर्न विभिन्न कानुनी तथा प्राविधिक कारणले तत्काल सम्भव नभएकाले गढन्ता र लक्ष्मिनिया साझेदारी वन परिसरका केही निश्चित स्थानमा नयाँ प्रविधियुक्त ‘लिन नेटवर्क सोलुसन’ प्रयोगमार्फत सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
यो सडक खण्ड जङ्गल क्षेत्रबाट गुज्रिएको मधेश प्रदेशकै सबैभन्दा लामो राजमार्ग खण्ड हो, जसको कुल दूरी करिब २१ किलोमिटर रहेको छ । यस क्षेत्रमा विद्युत आपूर्ति, टावर व्यवस्थापन तथा भौगोलिक चुनौतीका कारण लामो समयदेखि मोबाइल नेटवर्क नआउने समस्या रहेको थियो ।
एनसेलले सेवा विस्तार गरेसँगै अब यात्रु तथा आसपासका स्थानीय बासिन्दा सञ्चार सेवाबाट प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ । यात्रु सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील मानिएको यस सडक खण्डमा सेवा उपलब्ध गराउन डिभिजन वन कार्यालय (महोत्तरी), गढन्ता सब–डिभिजन वन कार्यालय तथा बाँके सब–डिभिजन वन कार्यालयले आवश्यक सहयोग र सहजीकरण गरेको एनसेलले जनाएको छ ।