महोत्तरी | मधेश प्रदेशमा शुक्रबारदेखि एकाएक चिसो बढेपछि शीतलहरको अनुभूति हुन थालेको छ ।
अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको महोत्तरीको मौसमले अचानक कोल्टे फेर्दै चिसो बढाएको हो । शनिबार यहाँको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा झरेको छ ।
बिहानैदेखि बाक्लो हुस्सु, पश्चिमी चिसो स्याँठ र दिनभरि घाम नलाग्दा मौसमी तापक्रममा उल्लेख्य गिरावट आएको छ । बिहीबार २४ डिग्री सेल्सियस रहेको तापक्रम शुक्रबार एकाएक घटेर २० डिग्री सेल्सियसमा झरेको थियो ।
बिहानदेखि परेको सिमसिमे तुषारोले जाडो अझै बढाएको स्थानीयले बताएका छन् । मटिहानी, जलेश्वर, सम्सी लगायत महोत्तरीका सीमावर्ती क्षेत्रमा चिसोको प्रभाव थप देखिएको छ ।
मङ्सिर–पुस लागेसँगै मधेशमा हरेक वर्ष शीतलहरको प्रकोप देखिँदै आएको छ । गत वर्ष २०८१ साल पुस २४ गतेदेखि तापक्रम घट्न थालेको थियो भने यस वर्ष पुस ४ गतेदेखि नै शीतलहरका लक्षण देखिन थालेका छन् ।
कठ्याङ्ग्रिने जाडोका कारण सडकमा पैदल यात्रुको सङ्ख्या घटेको छ । बिहानैदेखि सवारी चाप रहने पूर्व–पश्चिम राजमार्ग तथा बीपी राजमार्गमा दिनभरि बत्ती बालेर सवारी साधन सञ्चालन भइरहेको देखिएको छ । जाडोका कारण सडकमा गुड्ने सवारी साधनको सङ्ख्या पनि घटेको छ ।
सामान्यतया बिहान ८ बजे खुल्ने बजारका पसलहरू शुक्रबार १० बजेसम्म पनि अधिकांश बन्द देखिएका थिए ।
मधेश प्रदेश स्वास्थ्य तालिम केन्द्र पथलैयाका डा. राजीव झाका अनुसार शीतलहरका बेला शरीरको तापक्रम अत्यधिक घट्दा ‘हाइपोथरमिया’ हुने जोखिम बढ्छ । यस अवधिमा श्वासप्रश्वासको सङ्क्रमण, दम, रुघाखोकी, रक्तचाप बढ्ने, कान दुख्ने जस्ता समस्या देखिन सक्छन् ।
हाइपोथरमियाबाट बच्न अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन, शरीर न्यानो राख्न तथा झोलिलो र पोषिलो खानपानमा ध्यान दिन उहाँले सुझाव दिनुभयो ।
शीतलहरको सम्भावित प्रभावलाई ध्यानमा राख्दै स्थानीय तहहरूले तयारी अवस्थामा रहेको जनाएका छन् । बर्दीबास नगरपालिकाका नगर प्रमुख प्रहलाद क्षेत्रीले गत वर्षको तुलनामा यस वर्ष करिब २० दिन अगावै शीतलहर देखिएको बताउनुभयो ।
जाडोको प्रकोप बढेमा सार्वजनिक स्थानमा घुर बाल्ने व्यवस्था तथा गरिब र विपन्न समुदायका लागि न्यानो कपडा वितरणजस्ता कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आजबाट शीतलहर सुरु भएको देखिएको छ । प्रकोप बढ्दै गए शीतलहर व्यवस्थापनका लागि हामी तयारी अवस्थामा छौँ ।”
यसैगरी, स्थानीय तहका केही वडाहरूले पनि जाडो अझै बढेमा विपन्न समुदायका लागि दाउरा र कम्बल वितरणको तयारी गरेको जनाएका छन् ।