सप्तरी | ठक्कर दिएर फरार रहेका एक तेल ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको रूपनी गाउँपालिका–६ स्थित विरेन्द्र बजारमा गत बिहीबार तेल ट्याङ्करको ठक्करबाट एक बालकको मृत्यु भएको थियो । सो दुर्घटनापछि फरार रहेका ट्याङ्कर चालकलाई प्रहरीले शुक्रबार अपराह्न नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पुस ३ गते बिहान करिब ८ः३५ बजे लहानबाट रूपनीतर्फ जाँदै गरेको को.१ ख. ६९२७ नम्बरको तेल ट्याङ्करले बाटो काट्दै गरेका स्थानीय पुष्पनारायण महतोका ६ वर्षीय छोरा सचिन महतोलाई ठक्कर दिएको थियो । दुर्घटनामा सचिनको टाउको तथा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो ।
घाइते बालकलाई तत्काल उपचारका लागि रूपनीस्थित युनिक अस्पतालमा भर्ना गरिएको थियो । अवस्था गम्भीर भएपछि थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा सुनसरीको कोशी कटान क्षेत्रमा बालकको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय रूपनीबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले तत्काल ट्याङ्कर नियन्त्रणमा लिएको थियो । तर चालक भने घटनापछि फरार भएका थिए ।
दुर्घटनापछि फरार रहेका ट्याङ्कर चालक सप्तरीको सुरूङ्गा नगरपालिका–३ निवासी करिब २४ वर्षीय निराजनकुमार पसवानलाई शुक्रबार अपराह्न नियन्त्रणमा लिइएको हो ।
चालकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।