जनकपुरधाम । मधेस प्रदेशसभाको सभामुख पदका लागि सात दलीय गठबन्धनका साझा उम्मेदवार रामआशिष यादवले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दिउँसो करिब १ बजे प्रदेशसभा सचिवालयमा पुगेर यादवले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतकसमेत रहेका यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य फकिरा महतो समर्थक रहेका छन् ।
उम्मेदवारी दर्ताअघि बसेको सात दलीय गठबन्धनको बैठकले सर्वसम्मत रूपमा यादवलाई सभामुख पदका लागि साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो । गठबन्धनले प्रदेशसभामा स्थायित्व, सहकार्य र निष्पक्ष संसदीय अभ्यासलाई मजबुत बनाउने उद्देश्यले अनुभवी नेतालाई अघि सारेको जनाएको छ ।
गठबन्धनका एक नेताका अनुसार सभामुख पद संसद्को गरिमा र निष्पक्षताको प्रतीक भएकाले सबै दलसँग समन्वय गर्न सक्ने, संसदीय प्रक्रिया राम्रोसँग बुझेको र अनुभवी व्यक्तिलाई उम्मेदवार बनाइएको हो ।
यसअघि सभामुख रहेका रामचन्द्र मण्डल पदमुक्त भएपछि पद रिक्त हुँदा प्रदेशसभाको नियमित कामकारबाही प्रभावित हुँदै आएको थियो । नयाँ सभामुख चयनसँगै प्रदेशसभाको कार्यसूची पुनः नियमित हुने विश्वास लिइएको छ ।
मधेस प्रदेशको राजनीतिमा अनुभवी नेताका रूपमा परिचित यादवले प्रमुख सचेतकका रूपमा रहँदा विभिन्न विधेयक, प्रस्ताव तथा संसदीय अभ्यासमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । प्रदेशसभामा सात दलीय गठबन्धनको स्पष्ट बहुमत रहेकाले यादवको निर्वाचन लगभग सुनिश्चित देखिएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार निर्धारित कार्यतालिका अनुसार उम्मेदवारी दर्तापछि सभामुख चयनका लागि मतदान प्रक्रिया अघि बढाइनेछ ।