आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै बारा जिल्लामा मतदान केन्द्रको संख्या बढाइएको छ । जिल्ला निर्वाचन कार्यालयले ३२ वटा नयाँ मतदान केन्द्र थप गरेसँगै जिल्लाभर कुल ५८७ मतदान केन्द्र कायम गरेको छ ।
जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीका अनुसार जिल्लामा ३०५ वटा मतदानस्थल निर्धारण गरिएको छ। मतदाताको चाप व्यवस्थापन तथा सहज र सुरक्षित मतदान सुनिश्चित गर्न यसअघि रहेका ५५५ मतदान केन्द्रमा संख्या थप गरिएको हो ।
चार निर्वाचन क्षेत्र रहेको बारा जिल्लामा निर्वाचन क्षेत्र नं १ मा ८६ मतदानस्थल र १६१ मतदान केन्द्र तोकिएका छन् । यस क्षेत्रमा १ लाख २३ हजार ९८५ मतदाता सूचीकृत छन् ।
निर्वाचन क्षेत्र नं २ मा ८२ मतदानस्थल र १४५ मतदान केन्द्र कायम गरिएको छ, जहाँ १ लाख १३ हजार ८३९ मतदाताले मतदान गर्नेछन् ।
त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा ७६ मतदानस्थल र १४४ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस क्षेत्रमा १ लाख १३ हजार ५२१ मतदाता रहेका छन् ।
निर्वाचन क्षेत्र नं ४ मा ६१ मतदानस्थल र १३७ मतदान केन्द्र तोकिएका छन् । यस क्षेत्रमा १ लाख १४ हजार ४३९ मतदाता सूचीकृत छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार बारा जिल्लाभर कुल ४ लाख ६५ हजार ७८४ मतदाताले प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।