नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुर उमेरले ७० वर्ष पार गरी ज्येष्ठ नागरिक भइसकेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाराका चारवटा क्षेत्रबाट उम्मेदवारी दिने ११२ जनामध्ये मन्सुर सबैभन्दा पाका उम्मेदवार हुन् ।
मन्सुर बारा क्षेत्र नं ३ बाट यसपटक निवर्तमान सांसद एवं पूर्वमन्त्री ज्वालाकुमारी साह, पूर्वसांसद रामबाबु प्रसाद यादव, र रास्वपाका युवा उम्मेदवार अरविन्द साहसँग प्रतिस्पर्धा गर्दैछन् ।
दुईपटक मन्त्री र दुई कार्यकाल संघीय सांसद भइसकेका मन्सुर यसअघि बारा क्षेत्र नं ४ र ३ बाट क्रमशः २०४८, २०५६, २०६४ र २०७० मा चुनाव लडेका थिए। २०७४ र २०७९ को निर्वाचनमा कांग्रेस कार्यकर्ताले गठबन्धनका अन्य उम्मेदवारलाई फरक चुनाव चिह्नमा मतदान गरेका थिए भने यसपटक करिब ९ वर्षपछि कांग्रेसका नेता र कार्यकर्ताले रूख चिह्नमा मतदान गर्नेछन् ।
यसपटक मन्सुर शेरबहादुर देउवा गुटबाट विद्रोह गरेर गगन थापा समूहमा प्रवेश गरेका छन् । निर्वाचन क्षेत्रको वातावरण भने सहज छैन। उनको मनोनयन दर्तामा पार्टीका जिल्ला सभापति राजेश राय यादव, उपसभापति मनोज भट्ट लगायतको ठूलो समूह सहभागी भएन ।
कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवले रातोपाटीसँगको कुराकानीमा भने, “टिकट वितरणमा असन्तुष्टि भए पनि पार्टीले गरेको निर्णय मान्नैपर्छ ।”
७० वर्ष नाघेका मन्सुरले पुनः उम्मेदवारी दिनुको कारणबारे भने, मधेसवादी दलहरूले मधेसको विकास गर्न नसक्ने दाबी गरेका छन् । रास्वपालाई ‘चटके’ भन्दै उनले भने, “हाम्रो प्रतिस्पर्धा उनीहरूसँग छैन, यो चटक मात्रै हो । पानीमा फोका देखिएजस्तै आउँछन् र केही समयमै हराएर जान्छन् । अहिले देशको राजनीतिक अन्योल र भयको समाधान निर्वाचनबाट मात्रै हुन्छ ।”
बारा क्षेत्र नं ३ मा जीतपुर सिमराका ८, कलैया उपमहानगरका २६, र फेटा गाउँपालिकाका ४ गरी जम्मा ३८ वटा वडा पर्दछन् । यहाँ करिब १ लाख मतदाता छन्। २०७९ को निर्वाचनमा एमालेकी ज्वालाकुमारी साह ३ हजार बढी मतले विजयी भएकी थिइन् ।
यसपटक कांग्रेस, एमाले र जसपाबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीले युवालाई चुनावी मैदानमा उतारेको छ । रास्वपाका उम्मेदवार अरविन्द साह, जो ‘खल्ती एप’ का संस्थापक निर्देशक पनि हुन्,ले भने, “पुराना दलहरूले २० वर्षदेखि नेतृत्व गर्दै आएकोले अब जनताको चाहनाअनुसार नयाँ दललाई अवसर दिनुपर्छ। विकासलाई अगाडि बढाउने नेतृत्व रास्वपाले गर्नुपर्ने समय आएको छ ।”