कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावका कारण अस्तित्व संकटमा परेको छ ।
वर्षौँदेखि चल्दै आएको सीमा विवादका कारण तालको उचित संरक्षण हुन नसक्दा यो महत्वपूर्ण प्राकृतिक सम्पदा अतिक्रमणको चपेटामा परेको हो ।
कुनै समय करिब २२ बिगाहा क्षेत्रफलमा फैलिएको यो विशाल ताल अहिले करिब पाँच बिगाहामा मात्र सीमित भएको छ । संरक्षणको अभावमा तालको ठूलो हिस्सा पुरिँदै गएको छ भने बाँकी भागमा मानवीय अतिक्रमण तीव्र बन्दै गएको छ ।
स्थानीय लालसिंह बोहराका अनुसार ताल कुन पालिकाको भूगोलमा पर्छ भन्ने विषयमा प्राविधिक टुङ्गो नलाग्दा संरक्षणमा अवरोध सिर्जना भएको हो ।
‘ताल कृष्णपुर नगरपालिका–२ मा पर्छ कि लालझाडी गाउँपालिका–५ मा भन्ने विषयमा दुवै पालिकाको आ–आफ्नै दाबी छ,’ बोहराले भने, ‘स्वामित्वका लागि झगडा गर्ने तर संरक्षणमा चासो नदेखाउने प्रवृत्तिले तालको अस्तित्व नै संकटमा परेको छ ।’
तालको पूर्वतर्फको जग्गामा हाल ५० भन्दा बढी परिवारको बसोबास रहेको छ । अतिक्रमण गरिएको क्षेत्रफलमा खेतीपाती समेत हुँदै आएको छ । विसं २०५४ पछि ताल वरपर बस्ती बाक्लिँदै जाँदा अतिक्रमणको क्रम बढेको स्थानीयको भनाइ छ ।
स्थानीय गोपालसिंह महराका अनुसार तालको जग्गा मिचेर खेती गर्ने क्रम बढेपछि ताल पुरिने प्रक्रिया तीव्र भएको हो । ‘पहिले यो ताल निकै गहिरो र सफा थियो, अहिले खेतजस्तै देखिन थालेको छ,’ उनले दुःख व्यक्त गरे ।
तालको क्षेत्रफल घट्दै जाँदा आसपासको भूमिगत जलस्तरमा समेत नकारात्मक प्रभाव परेको छ । साथै, प्राकृतिक तालको विनाशसँगै यहाँको जैविक विविधता पनि संकटमा परेको छ ।
स्थानीय भजनी रानाका अनुसार केही वर्षअघिसम्म हिउँदमा देखिने विभिन्न प्रजातिका चराचुरुङ्गीहरू अहिले बस्ती विस्तारका कारण देखिन छाडेका छन् ।
संघीय संरचना लागू हुनुअघि तत्कालीन जिल्ला विकास समिति कञ्चनपुरले ताललाई ठेक्कामा लगाएर आम्दानी गर्दै आएको थियो । पछि प्राकृतिक स्रोत स्थानीय तहको मातहत आएपछि दुवै पालिकाले यसलाई आयस्रोतका रूपमा प्रयोग गर्ने प्रयास गरे पनि जिम्मेवारी लिन भने आनाकानी गरिरहेका छन् ।
सीमा विवाद समाधानका लागि जिल्ला समन्वय समिति कञ्चनपुरले पटक–पटक पहल गरे पनि ठोस उपलब्धि हासिल हुन सकेको छैन ।
जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराका अनुसार दुवै पालिकाका जनप्रतिनिधिसँग पटक–पटक बैठक बसे पनि कार्यान्वयन पक्ष कमजोर देखिएको छ ।
‘दुवै कार्यपालिकाबाट प्रतिनिधि तोकेर नापजाँच गर्ने सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन,’ उनले भने ।
कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले गडविजुला ताल क्षेत्र पहिलेदेखि नै नगरपालिकाको स्वामित्वमा रहेको दाबी गरे । उनका अनुसार आरक्ष विस्थापितको बस्ती बस्न थालेपछि लालझाडी गाउँपालिकाले आधा क्षेत्र आफ्नो भएको दाबी गर्न थालेपछि विवाद सुरु भएको हो ।
दुवै पालिकाको सहमतिमा नापी विभागको टोली बोलाएर सीमा यकिन गर्ने तयारी भइरहेको नगर प्रमुख ओझाले बताए ।
क्षेत्रफलका हिसाबले ठूलो र प्राकृतिक रूपमा सुन्दर गडविजुला ताललाई संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके दुवै पालिकाका लागि आम्दानीको ठूलो स्रोत बन्न सक्ने स्थानीयको विश्वास छ ।
तर समयमै सीमा विवाद समाधान गरी अतिक्रमण नहटाइएमा केही वर्षभित्रै गडविजुला ताल केवल नक्सामा मात्र सीमित हुने खतरा बढ्दै गएको छ ।