नेपाल महिला क्रिकेट टोलीले टेस्ट राष्ट्र जिम्बावेलाई हराउँदै पहिलो जीत हात पारेको छ। महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला, कीर्तिपुरमा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो ।
टस हारेपछि ब्याटिङको निम्तो पाएको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनायो । नेपालका उपकप्तान पूजा महतोले अविजित अर्धशतक बनाउँदै ३ बल अगाडि १ सय ३३ रनमा लक्ष्य पुरा गराइन्। उनले ५० बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरेकी थिइन् ।
नेपालको यो जीतले सुपर सिक्समा पुग्ने आशा कायम राखेको छ । पहिलो दुई खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । नेपाललाई विजय दिलाउन जिम्बावेको अनियन्त्रित बलिङले पनि ठूलो सहयोग पुर्याएको थियो ।
खेलमा कप्तान इन्दु बर्मा २२ रनमा आउट भइन् भने पूजा महतोले ५२ रन बनाइन् । सीता रानामगर ११ रनमा रिटायर्ड हर्ट हुँदै महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय करियरमा १ हजार रन पूरा गरिन् । रुविना क्षेत्री २ रनमा अविजित रहिन् ।
जिम्बावेको तर्फबाट केलिस ध्लोभुले ५२ रन बनाइन् भने विलोभ्ड बिजाले ३४ रन जोडेकी थिइन् । नेपालबाट रिया शर्माले २ विकेट लिए, कविता कुँवर, सीता रानामगर, रुविना क्षेत्री र पूजा महतोले १–१ विकेट लिए। यस जितसँगै जिम्बावे समूह चरणका सबै चार खेलमा पराजित भएको छ ।