नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि दिएको आह्वानलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ठाडै अस्वीकार गरेका छन् ।
ओलीसँग एउटै मञ्चमा उभिनु ७६ जना बालबालिकाको हत्यारा र उसको मतियारसँग सामेल हुनु सरह हुने भन्दै बालेनले पब्लिक डिबेटमा सहभागी नहुने स्पष्ट पारेका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत ओलीले पब्लिक डिबेटको प्रस्ताव सार्वजनिक गरेका थिए । उनले नयाँ–पुराना सबै दल चुनावमा होमिएको अवस्थामा देश बनाउने र देश जलाउने पक्षबीच प्रतिस्पर्धा भइरहेको उल्लेख गरेका थिए । साथै, सार्वजनिक बौद्धिक वृत्तबाट पारदर्शी बहसको माग भइरहेको भन्दै त्यसलाई सकारात्मक रूपमा लिएको बताएका थिए ।
ओलीले सामाजिक सञ्जालमा लेखेका थिए, “पब्लिक डिबेटका लागि हामी तयार छौं । देशको नेतृत्व गर्न खोज्ने दलहरूको एजेण्डा, विगतका काम, भविष्यको योजना र रोडम्यापबारे सार्वजनिक बहस आवश्यक छ ।”
उनले सामाजिक सञ्जालमा फ्रेमिङ गरेर ल्याइने प्रचार सामग्रीमार्फत मतदातालाई भ्रमित गर्ने प्रवृत्ति बढेकाले पनि पब्लिक डिबेटको आवश्यकता परेको दाबी गरेका थिए ।
यसपालिको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका पुराना दलदेखि नयाँ दलहरूसम्म प्रधानमन्त्रीका उम्मेदवारसहित मैदानमा उत्रिएको उल्लेख गर्दै ओलीले सबै उम्मेदवारलाई एउटै मञ्चमा उभ्याएर प्रत्यक्ष प्रश्नोत्तर गर्न तयार रहेको बताएका थिए ।
“चुनावपछि प्रधानमन्त्रीका उम्मेदवार बनेका सबैलाई एउटै मञ्चमा उभ्याएर सिधा प्रश्न सोध्ने वातावरण बनाउनुपर्छ । यस्तो बहसमा सहभागी भएर हामीले के गर्यौं र अब के गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु,” ओलीले लेखेका छन् ।
तर, ओलीको उक्त स्टाटसप्रति प्रतिक्रिया दिँदै बालेन शाहले कडा टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “आफूलाई देश जलाउनेको रूपमा स्वीकार गरेको ठीकै छ । तपाईँहरूले २३ गते बालबालिका मारेको आतङ्कवाद लुकाउन २४ गते देश जलाउनुभयो । आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने हो ? त्यसपछि अरू कुरा गरौँला ।”
उनले ७६ जना बालबालिकाको हत्यारा र उसका मतियारसँग एउटै मञ्चमा उभिनु भनेको त्यसमा सहमति जनाउनु जस्तै हुने भन्दै पब्लिक डिबेटमा सहभागी नहुने अडान दोहोर्याएका छन् ।
ओलीको प्रस्ताव र त्यसप्रति बालेनको कडा प्रतिक्रियापछि राजनीतिक वृत्तमा थप बहस र चर्चा सुरु भएको छ ।