गरुडा नगरपालिका–१, जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर मेला जारी रहेको छ । श्रीपञ्चमीको अवसर पारेर शुक्रबारदेखि सुरु भएको मेलामा घरायसी प्रयोजनका काठका फर्निचरका साथै कृषिसँग सम्बन्धित फलामका विभिन्न सामग्री बिक्रीका लागि राखिएका छन् । मेला दुई महिनासम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् ।
विसं २०६५ देखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो मेला ग्रामीण क्षेत्रमा लाग्ने मेलाहरूको तुलनामा आकार, व्यापार र सहभागिताका हिसाबले देशकै ठूलो ग्रामीण फर्निचर मेलाका रूपमा परिचित छ । नेपाल विश्वकर्मा लोहार सङ्घका अध्यक्ष विवेक शर्माले जानकारी दिए ।
मेलामा पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, चारपाई, बेञ्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, दराज, बालबालिकाका खेलौनासहित घरायसी प्रयोगका सबै प्रकारका काठका फर्निचर उपलब्ध छन् । त्यसैगरी फलामका कोदालो, हँसिया, कुटो, बञ्चरो, खुकुरीलगायत सामग्री पनि बिक्रीका लागि राखिएको छ ।
मेलामा रौतहट, सर्लाही, महोत्तरी, बारा, पर्सा लगायतका जिल्लाका दुई सयभन्दा बढी फर्निचर व्यवसायीले आफ्ना सामग्री बिक्रीका लागि ल्याएका छन् । अध्यक्ष शर्माका अनुसार नेपालका विभिन्न स्थानबाट मात्र नभई भारतको बिहार प्रान्तबाट समेत उपभोक्ता तथा व्यापारीहरू फर्निचर खरिद गर्न मेलामा आउने गर्छन् ।
जयनगर फर्निचर मेलामा अन्य स्थानको तुलनामा २५ प्रतिशतभन्दा बढी सस्तोमा फर्निचर उपलब्ध हुन्छ । स्थानीय काठ प्रयोग गरी निर्माण गरिएका फर्निचरको मूल्य तुलनात्मक रूपमा कम हुने भएकोले विवाहमा दाइजोका लागि र सस्तो तथा गुणस्तरीय सामग्री खोज्ने उपभोक्ताको पहिलो रोजाइ यो मेला बनेको छ ।
मेलाबाट रौतहट, सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर लगायत नेपालका विभिन्न भाग तथा भारतको सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटना सम्म फर्निचर ढुवानी भइरहेको छ । मेलामा यातायातको सहज पहुँच, गुणस्तरीय सामग्री र सस्तो मूल्यले उपभोक्ता र व्यवसायी दुवैको ध्यान आकर्षित गरेको अध्यक्ष शर्माले बताउनुभयो ।