प्रहरीले पर्साको वीरगंजबाट भन्सार छली गरी भित्र्याइएका २२ लाख दुई हजार ७०० रुपैयाँ बराबरका मालसामानसहित तीनवटा गाडी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगंज महानगरपालिका–१० स्थित रानीघाट क्षेत्रबाट भारतबाट भन्सार छली तथा चोरीपैठारी गरी ल्याइएका चार लाख २३ हजार ५०० रुपैयाँ बराबरका सामान बरामद गरिएको हो ।
त्यसैगरी, तीनवटा गाडीमा लुकाइछिपाइ भन्सार छली गरी ल्याउँदै गरिएको १७ लाख ७९ हजार २०० रुपैयाँ बराबरका कपडालगायतका सामान पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले बरामद गरेका सम्पूर्ण मालसामान तथा तीनवटै गाडी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
पछिल्लो समय वीरगञ्ज क्षेत्रमा भन्सार छली तथा चोरीपैठारी नियन्त्रण गर्न प्रहरीले निगरानी र कारबाहीलाई तीव्रता दिएको छ ।