उदयपुरमा चालु आर्थिक वर्ष २०८३/८४ मा प्रहरीले २६ हजार ६७० बोट अवैध गाँजा खेती नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुर र मातहतका प्रहरी इकाइहरूले जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरी उक्त परिमाणमा गाँजाका बोट फडानी गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले मंसिर ९ गते सार्वजनिक गरेको विवरणअनुसार जिल्लाका कटारी, बेलका, लिम्चुङबुङ र ताप्ली क्षेत्रका नौ स्थानमा अवैध गाँजा खेतीविरुद्ध अभियान सञ्चालन गरिएको थियो ।
प्रहरीका अनुसार सबैभन्दा बढी कटारी नगरपालिकाका विभिन्न स्थानबाट १४ हजार ५२० बोट गाँजा नष्ट गरिएको छ । त्यस्तै, बेलका नगरपालिकाबाट ९ हजार ४५०, लिम्चुङबुङ गाउँपालिकाबाट एक हजार ९५० र ताप्ली गाउँपालिकाबाट ७५० बोट गाँजा फडानी गरिएको छ ।
कटारी नगरपालिकाको मर्जेतपुर, बलोटे, आहाले, टाँटरी, सेउर्नेनी, बबला, भट्टाबारी र कालिखोलालगायत क्षेत्रमा गाँजा खेती नष्ट गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, बेलका नगरपालिकाको पावला, तिलितले, खमारे, म्युङटार, पिल्लास र केक्रा क्षेत्रमा समेत प्रहरीले अभियान सञ्चालन गरी अवैध रूपमा लगाइएको गाँजा खेती फडानी गरेको हो ।
जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा हुँदै आएको गाँजा खेती नियन्त्रण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।