प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र नेपाल पत्रकार महासंघले अघि सारेका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले पर्साका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय पर्साको परिसरमा धर्नासहित प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा बुधबार आयोजित प्रदर्शन महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत गरिएको हो । प्रदर्शनमा सहभागी पत्रकारहरूले ‘सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानर प्रदर्शन गर्दै सरकारको मिडियाप्रतिको व्यवहारप्रति विरोध जनाएका थिए ।
नेपाल पत्रकार महासंघले घोषणा गरेका आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिँदै पर्साका पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारहरूको पेसागत सुरक्षा र सञ्चारकर्मीहरूको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले महासंघको केन्द्रले अघि सारेका माग सम्बोधन गर्न तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । सरकारको भूमिकाप्रति असन्तुष्टि जनाउँदै दबाब सिर्जना गर्न प्रदर्शन गरिएको उनको भनाइ छ ।
त्यस्तै, महासंघ पर्साका सदस्य राहुल गुप्ताले मिडियाप्रति सरकारको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै पत्रकारिता क्षेत्रको स्वतन्त्रता, पेसागत सुरक्षा तथा सञ्चारकर्मीहरूको अधिकारका पक्षमा महासंघले निरन्तर आवाज उठाउँदै आएको बताए ।
उनले सरकारको मिडियाप्रतिको व्यवहारविरुद्ध सुरु गरिएको आन्दोलनलाई थप सशक्त बनाउन पर्साका पत्रकारहरू एकजुट भएर प्रदर्शनमा सहभागी भएको उल्लेख गरे ।
महासंघले अघि सारेका माग सम्बोधन नभएसम्म प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने पत्रकारहरूको भनाइ छ ।