त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम तौल भएको सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई जना चिनियाँ महिला पक्राउ परेका छन् ।
हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत सोमबार राति काठमाडौँ आइपुगेका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ती महिलाहरूले प्लास्टिकले बेरेर मलद्वार तथा भित्री वस्त्रभित्र लुकाई ल्याएका आठ थान गोलाकार अर्धठोस पदार्थ बरामद गरिएको हो । भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएका ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेका छन् ।
प्रहरीका अनुसार लिन लिनाको साथबाट पाँच थान अर्धठोस पदार्थ बरामद भएको छ, जसको प्लास्टिकसहितको तौल एक हजार ३४० ग्राम रहेको छ । त्यस्तै, लिन सिनपिङको साथबाट तीन थान अर्धठोस पदार्थ बरामद भएको छ, जसको प्लास्टिकसहितको तौल एक हजार आठ ग्राम रहेको छ ।
दुवै महिलाको साथबाट बरामद भएको पदार्थको कुल तौल दुई किलो ३४८ ग्राम रहेको प्रहरीले जनाएको छ । उक्त पदार्थ सुनजस्तो देखिए पनि यसको वास्तविक धातु तथा शुद्धता परीक्षणबाट पुष्टि हुन बाँकी छ ।
विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार शङ्कास्पद रूपमा सुन लुकाएर ल्याएको फेला परेपछि दुवै महिलालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।