नेपाल स्पोर्ट्स समिट कमिटीले आगामी माघ २२ गते (फेब्रुअरी ५) होटल सोल्टी, काठमाडौंमा नेपाल स्पोर्ट्स समिट २०२६ आयोजना गर्ने घोषणा गरेको छ ।
आयोजक कमिटीका अनुसार समिटमा नेपालको खेल क्षेत्रसँग सम्बन्धित नीति, पूर्वाधार, सञ्चार, डिजिटल सामग्री र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा केन्द्रित पाँच उच्चस्तरीय प्यानल छलफल सत्र सञ्चालन गरिनेछ ।
भाष्कर राजकर्णिकारले सत्रहरूमा खेल कूटनीति, खेल पूर्वाधार विकास, उदीयमान खेलहरूको प्रवर्द्धन, खेल सञ्चार र प्रसारणको भूमिका, डिजिटल खेल सामग्री तथा इन्फ्लुएन्सरमार्फत खेल कथनवाचन जस्ता विषय समेटिने जानकारी दिए ।
उनले स्पोर्ट्स समिटको मुख्य उद्देश्य नेपाललाई विश्वस्तरीय खेल पर्यटन गन्तव्यको रूपमा स्थापित गर्नु, अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नु र नेपालको खेल अर्थतन्त्र सुदृढ बनाउने दिगो साझेदारी निर्माण गर्नु रहेको बताए ।
समिटका अर्का आयोजक आमिर अख्तरले भने, “नेपाल स्पोर्ट्स समिट केवल कार्यक्रम नभई खेल, कूटनीति, पर्यटन र आर्थिक विकासलाई एकीकृत गर्ने राष्ट्रिय अभियान हो । यसले नेपालको खेल इकोसिस्टमलाई विश्वव्यापी अवसरसँग जोड्दै अन्तर्राष्ट्रिय सहकार्यमार्फत देशको खेल भविष्य रूपान्तरण गर्न सहयोग पुर्याउँछ ।”
राजकर्णिकारले नेपाली खेलकुदलाई व्यावसायिक मार्गमा प्रवेश गराउनु आजको आवश्यकता भएको उल्लेख गर्दै भने, “एनएसएस २०२६ ले नेपालको खेल अर्थतन्त्रलाई सुदृढ बनाउन दिगो साझेदारी निर्माण गर्नेछ । विश्व अर्थतन्त्रमा खेल अर्थतन्त्रले दुई प्रतिशतभन्दा बढी हिस्सा ओगटेको तथ्यलाई ध्यानमा राख्दै नेपालमा पनि खेल अर्थतन्त्रको योगदान बढाउने उद्देश्यले यो समिट आयोजना गर्दैछौं ।”
नेपाल स्पोर्ट्स समिटमा कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय मिसन, कर्पोरेट नेतृत्व, विश्वव्यापी लगानीकर्ता, सरकारी अधिकारी, नीति निर्माता, अन्तर्राष्ट्रिय प्रतिनिधि तथा खेल उद्योगका विभिन्न सरोकारवालाहरूको सहभागिता रहनेछ । आयोजकहरूले विश्व क्रिकेट हस्ती कपिल देव पनि समिटमा उपस्थित हुने जानकारी दिएका छन् ।