मधेशको भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित वीरगंजमा बिहीबारदेखि आयोजना हुन लागेको दोस्रो मधेश साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
आयोजक संस्था उत्कर्ष नेपालका अध्यक्ष रितुराज साहका अनुसार महोत्सवमा मधेशसहित देशभरका साहित्यकार, लेखक, कवि तथा चिन्तकहरूको उल्लेखनीय सहभागिता रहनेछ । महोत्सव अवधिभर कविता वाचन, साहित्यिक विमर्श, पुस्तक विमोचन तथा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछ ।
मधेश विश्वविद्यालय परिसरमा आयोजना हुने यस महोत्सवले मधेशको साहित्यिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्य लिएको साहले बताए । युवापुस्तालाई साहित्यतर्फ आकर्षित गर्न विशेष सत्रहरू समेत समावेश गरिएको उनले जानकारी दिए ।
उद्घाटन समारोहका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव रहनेछन् । ‘गाँवः स्मृति, मिथक र यथार्थ’ विषयक बीजपत्र सत्रका वक्ता भाष्कर गौतम रहनेछन् ।
त्यस्तै, ‘गाँवका युवाः पलायन, पोलिसी र विकल्प’ सत्रमा वसन्तकुमार कुशवाहा, भोगेन्द्र झा र सलोनी प्रधान सिंह वक्ता रहनेछन् । ‘गाँवः लोकतन्त्र र सत्ता’ विषयक सत्रमा सुरेश ढकाल, सुचेता प्याकुरेल र सविन निङ्ग्लेखु सहभागी हुनेछन् ।
यसैगरी ‘गाँवः स्मृति र इतिहास’ सत्रमा गोपाल ठाकुर, अन्जय मिश्रा, त्रिभुवन बरई र राकेश मिश्र वक्ताका रूपमा सहभागी हुनेछन् ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवले मधेशको साहित्यिक चेतना र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।