बुधबार पाँच वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउनदेखि पुससम्म) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार दुई बैंकको नाफा बढेको छ भने तीन बैंकको घटेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा घट्यो
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एक अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४३.०५ प्रतिशत कम हो ।
गत वर्ष सोही अवधिमा बैंकले दुई अर्ब ८३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घट्नु र प्रावधान रकम बढ्नु नाफा घट्नुको मुख्य कारण रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी १२.८३ प्रतिशत घटेको छ भने प्रावधान रकम एक अर्ब ७७ करोडबाट बढेर तीन अर्ब ९ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४५ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ७७ पैसा रहेको छ। वितरणयोग्य मुनाफा ३ अर्ब ६२ करोड १० लाख रुपैयाँ ऋणात्मक रहेको छ । निष्क्रिय कर्जा ५.८६ प्रतिशतबाट बढेर ७.९० प्रतिशत पुगेको छ ।
प्रभु बैंकको नाफामा गिरावट
प्रभु बैंकले एक अर्ब एक करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा २४.०८ प्रतिशत कम हो ।
खुद ब्याज आम्दानी २.३८ प्रतिशत बढेर चार अर्ब ९८ करोड पुगे पनि प्रावधान रकम बढेकाले नाफामा असर परेको छ । प्रावधान रकम ८१ करोड ४२ लाखबाट बढेर एक अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६२ पैसा र नेटवर्थ १४६ रुपैयाँ १७ पैसा रहेको छ । वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक छ । खराब कर्जा ७.९४ प्रतिशत पुगेको छ ।
सिटिजन्स बैंकको नाफा ४५ प्रतिशतले घट्यो
सिटिजन्स बैंक इन्टरनेसनलले ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ४५.७८ प्रतिशत कम हो ।
खुद ब्याज आम्दानी २.२८ प्रतिशत बढेर तीन अर्ब १४ करोड पुगे पनि प्रावधान रकम एक अर्ब ३८ करोडबाट बढेर एक अर्ब ८३ करोड पुगेकाले नाफा घटेको हो ।
बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६३ पैसा र नेटवर्थ १४९ रुपैयाँ ७९ पैसा रहेको छ । वितरणयोग्य मुनाफा एक अर्ब १० करोड रुपैयाँ ऋणात्मक छ । खराब कर्जा ६.८६ प्रतिशत पुगेको छ ।
एभरेष्ट बैंकको नाफा सामान्य वृद्धि
एभरेष्ट बैंकले दुई अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा २.०४ प्रतिशत बढी हो ।
खुद ब्याज आम्दानी ५.९६ प्रतिशत बढेर चार अर्ब ५७ करोड पुगेपछि नाफामा सुधार आएको हो । प्रतिसेयर आम्दानी ३० रुपैयाँ ८६ पैसा र नेटवर्थ २३५ रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब ३४ करोड २८ लाख रुपैयाँ रहेको छ । वार्षिकीकरण गरिएको लाभांश क्षमता ३१ प्रतिशत रहेको छ। निष्क्रिय कर्जा एक प्रतिशतभन्दा कम रहेको छ ।
नेपाल बैंकको नाफा उल्लेख्य वृद्धि
नेपाल बैंक लिमिटेडले एक अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा १८३ प्रतिशत बढी हो । गत वर्ष बैंकले ४६ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी ३.९७ प्रतिशत घटेर चार अर्ब ४४ करोडमा सीमित भए पनि प्रावधान रकम दुई अर्ब ५२ करोडबाट घटेर करिब ४८ करोडमा झरेकाले नाफा बढेको हो ।
बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा र नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा रहेको छ ।