लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत आर्थिक सङ्कटमा परेको छ । स्वास्थ्य बिमा गरेका बिरामीको उपचार गरेबापत अस्पतालले तीन करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी पाउन नसकेको जनाएको छ ।
गत आर्थिक वर्षदेखि स्वास्थ्य बिमा तथा ‘डायलायसिस’ सेवाबापतको रकम भुक्तानी नआउँदा अस्पतालका नियमित गतिविधि प्रभावित बनेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डीराज पौडेलले जानकारी दिए । अस्पतालले स्वास्थ्य बिमा अन्तर्गत उपचार गरेका बिरामीको खर्च सरकारबाट प्राप्त गर्नुपर्ने भए पनि समयमा भुक्तानी नहुँदा बक्यौता रकम बढ्दै गएको उनले बताए ।
डा. पौडेलका अनुसार बिमा रकम नआउँदा औषधि तथा उपकरण खरिद, कर्मचारीको तलब–भत्ता भुक्तानी तथा अन्य प्रशासनिक कामकाज सञ्चालनमा गम्भीर समस्या देखिएको छ । पटक–पटक सम्बन्धित निकायमा माग गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ ।
“स्वास्थ्य बिमा गरेका बिरामीहरू सामान्य समस्या लिएर पनि अस्पताल आउने गर्छन् । उनीहरूलाई सेवा दिनुपर्ने बाध्यता छ,” डा. पौडेलले भने, “तर मन्त्रालयबाट भुक्तानी ढिलाइ हुँदा आवश्यक औषधि, ल्याब सेवा र उपचार सामग्री व्यवस्थापन गर्न कठिन भएको छ ।”
अस्पताल व्यवस्थापन समितिको कोषबाट हालसम्म सेवा सञ्चालन गर्दै आएको भए पनि अब थप सङ्कट उत्पन्न हुन थालेको उनको भनाइ छ । सरकारबाट रकम नआउँदा औषधि खरिद प्रक्रियासमेत अवरुद्ध भएको उनले बताए ।
जिल्लामा स्वास्थ्य बिमामा आवद्ध करिब ४५ प्रतिशत नागरिकले यही अस्पतालबाट सेवा लिने गरेका छन् । सरकारले देशभरका अस्पताललाई तोकिएको दररेटअनुसार भुक्तानी दिने व्यवस्था गरे पनि प्रत्येक वर्ष रकम लिन समस्या हुने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याबहादुर परियारले बताए ।
उनका अनुसार स्वास्थ्य बिमा बोर्डमार्फत बिल तथा भर्पाइ पेश गरी स्वास्थ्य मन्त्रालयमा रकम माग गरिए पनि समयमा भुक्तानी नहुँदा अस्पताल आर्थिक संकटमा पर्न थालेको छ ।
स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत एक परिवारले वार्षिक तीन हजार पाँच सय रुपैयाँ प्रिमियम तिरेपछि पाँच सदस्यसम्मका लागि एक लाख रुपैयाँ बराबरको उपचार सुविधा पाउने व्यवस्था छ । पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति सात सय रुपैयाँ थप योगदान गर्नुपर्नेछ भने उपचार सुविधा वार्षिक अधिकतम दुई लाख रुपैयाँसम्म उपलब्ध गराइने प्रावधान रहेको छ ।
केही दिनअघि अस्पताल निरीक्षणका क्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमलाई बिमा रकम भुक्तानीका लागि ज्ञापनपत्र बुझाइएको थियो । सो अवसरमा मन्त्री गौतमले देशभरका अस्पतालहरू बिमाबापतको रकम नपाएर समस्यामा परेको जनाउँदै सरकारले विभिन्न स्रोत खोजी बजेट व्यवस्थापनमा जुटिरहेको जानकारी दिएकी थिइन् ।