रास्वपा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँगको चुनावी यात्राका क्रममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको ग्रान्डी अस्पताल, काठमाडौंमा उपचारका क्रममा आइतबार १२:४५ बजे निधन भएको छ ।
गत शुक्रबार बिहान सिटौलालाई मंगलसेन नगरपालिका–४, बाँगापाटामा अचानक अचेत अवस्थामा फेला पारिएको थियो । सुरुमा जिल्ला अस्पताल अछाममा पुर्याइएको उनलाई त्यहाँ उपचार सम्भव नहुने भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याइएको थियो ।
अछाम जिल्ला अस्पतालका प्रमुख डा. कमलेश यादवका अनुसार सिटौलाको अस्पतालमा आइपुगेको अवस्थामा अवस्था गम्भीर थियो । ‘उहाँलाई अस्पताल ल्याउँदा रक्तचाप थिएन, शरीर चिसो भइसकेको थियो र श्वासप्रश्वास समेत चलिरहेको थिएन,’ उनले बताए । सिटी स्क्यानपछि टाउकामा चोट लागेर रगत जमेको आशंका देखिएपछि उपचारका लागि काठमाडौं पठाइएको थियो ।
काठमाडौंमा उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार सुरु गरिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार सिटौलालाई ब्रेन ह्यामरेज पुष्टि भएको थियो । ‘उहाँलाई करिब ४५ मिनेटसम्म प्राथमिक जीवनरक्षक उपचार (CPR) गरिएको थियो । ब्रेनको नसा फुटेर रगत जमेको देखियो,’ चिकित्सकले बताए ।
घटनाका क्रममा सिटौलाले बालेनका सहयोगी भूपदेव शाहको घरमा चिया खाएर निस्कने क्रममा स्कारपियो गाडीबाट ओर्लिन खोज्दा ढलेर टाउकामा चोट लागेका थिए । साथीहरूले घटनास्थलमै CPR गरेका थिए ।
सिटौला पत्रकारका रूपमा भन्दा पनि बालेनको टोली सदस्यको रूपमा सहभागी थिए। उनी चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष तथा ‘द सिनेमा टाइम्स’ अनलाइन पोर्टलका सम्पादक/अध्यक्ष पनि रहेका थिए। सिटौलाले नेपाल टेलिभिजनमा चलचित्रसम्बन्धी कार्यक्रम संचालन गर्नुभएको थियो र दर्जनभन्दा बढी फिल्ममा प्रेस संयोजकको रूपमा काम गरिसक्नुभएको थियो।
रास्वपा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टका अनुसार, टोली गाडी बिग्रिएपछि शनिबार राति बाजुराको फालासैनमा बसेको थियो। सिटौलाले त्यस क्रममा पनि टोलीमा सक्रिय सहभागिता जनाउनुभएको थियो।