लागुऔषध प्रयोगकर्ताको पहिचान गर्न सुर्खेत प्रहरीले परीक्षण किट प्रयोग गर्न थालेको छ । पछिल्लो समय कर्णाली प्रदेशमा लागुऔषध कारोबार तथा प्रयोगकर्ता बढेको गुनासो आएपछि आइतबारदेखि किटमार्फत शंकास्पद व्यक्तिको परीक्षण सुरु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीका अनुसार, लागुऔषध सेवन गरेर सार्वजनिक सवारी साधन चलाउने व्यक्तिलाई प्रमाणको अभावमा कारबाही गर्न कठिनाइ हुँदै आएको थियो । यही समस्यालाई मध्यनजर गर्दै परीक्षण किट प्रयोगमा ल्याइएको हो ।
एसपी शाहीले भने, “हामीले विभिन्न प्रकारका परीक्षण किट प्राप्त गरेका छौं । सुर्खेतका मुख्य क्षेत्रहरूमा ती किट प्रयोग गरी विभिन्न विधिबाट परीक्षण गर्नेछौं । किटबाट लागुऔषध सेवन गरेको पुष्टि भएमा सम्बन्धित व्यक्तिको नमुना परीक्षणका लागि अस्पताल पठाइनेछ ।”
अस्पतालबाट विस्तृत परीक्षण प्रतिवेदन प्राप्त भएपछि मुद्दा प्रक्रिया अगाडि बढाइने उनले बताए । अदालतमा प्रमाण प्रस्तुत गर्न सकिने गरी परीक्षण किटलाई अस्पतालमार्फत प्रमाणित गरिने उनको भनाइ छ ।
प्रविधियुक्त परीक्षण किट संयुक्त राष्ट्रसंघको अपराध तथा लागुऔषध नियन्त्रण कार्यालय (यूएनओडीसी)को सहयोगमा प्राप्त भएको प्रहरीले जनाएको छ ।