सिरहा प्रहरीले कर्तव्य ज्यान मुद्दामा संलग्न भई विगत ११ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साविक औरही गाउँ विकास समिति–८ निवासी ५६ वर्षीय मिठु साफी धोवी रहेका छन् ।
वि.सं. २०७१ सालदेखि फरार रहेका साफीलाई प्रहरीले गत माघ १५ गते आफ्नै गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
घटनाको विवरणअनुसार वि.सं. २०७१ भदौ १९ गते बिहान स्थानीय ४५ वर्षीय डोमा सदाय आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । उक्त घटनापछि मृतककी पत्नी अमोलिया देवी सदायले साफीविरुद्ध किटानी जाहेरी दर्ता गराएकी थिइन् ।
अनुसन्धानका क्रममा घटना भएको रात मादक पदार्थ सेवनका क्रममा साफी र सदायबीच विवाद तथा झैँ–झगडा भएको तथ्य खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका साफीलाई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको सिरहा प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए ।
प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।