लागुऔषध कारोबार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले दुई जना भारतीय नागरिकलाई जनही १८ वर्ष कैद सजाय सुनाएको छ ।
अदालतले उनीहरूलाई जनही पाँच लाख २० हजार रुपैयाँ जरिवाना तिर्ने आदेश पनि दिएको छ । जिल्ला न्यायाधीश निर्मला शर्मा सुवेदीको मंगलबारको इजलासले भारतको हिसार, हरियाणा निवासी २५ वर्षीय कुमार गोठवाल र २० वर्षीय मनिष कुमारलाई अफिम तथा चरेस कारोबारमा दोषी ठहर गर्दै उक्त फैसला गरेको हो ।
अदालतले अफिम कारोबारको कसुरमा जनही १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तथा चरेस कारोबारमा जनही तीन वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । प्रहरीले उनीहरूको साथबाट तीन किलो ४६० ग्राम अफिम र २१ किलो ४६० ग्राम चरेस बरामद गरेको थियो । इलाका प्रहरी कार्यालय पालुङले अभियुक्तद्वयलाई २०८१ पुस २७ गते थाहा नगरपालिका–११ नौखण्डेबाट भारतीय नम्बरको कारसहित पक्राउ गरेको थियो ।
हाल उनीहरू भीमफेदी कारागारमा रहेका छन् ।