पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर क्षेत्रमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईका अनुसार आज बिहान लु३च ५४७२ नम्बरको निजी कार दुर्घटनामा पर्दा बुटबल उपमहानगरपालिका–१ निवासी २७ वर्षीय शुभम् जैसवालको मृत्यु भएको हो ।
काँकरभिट्टाबाट बुटवलतर्फ गइरहेको उक्त कार दुर्घटनामा परेपछि चालक बुटबल उपमहानगरपालिका–१ का २३ वर्षीय साहिल बर्मा, ४८ वर्षीय वृजकिशोर बर्मा र ५२ वर्षीय सञ्जय जैसवाल घाइते भएका छन् ।
घाइते तीनै जनालाई उपचारका लागि बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये सञ्जय जैसवालको अवस्था गम्भीर रहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।