राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश प्रस्थान गरेका छन् ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन सोमबार जापान पुगेका थिए ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भई सम्बोधन गरेका थिए ।
त्यसैगरी, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गरेका थिए । साथै उनले जापानकी प्रधानमन्त्री सुश्री ताकाइची सानाए तथा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यापारिक समुदाय तथा जापानमा रहेका नेपाली समुदायका विभिन्न कार्यक्रमलाई सम्बोधन गरेका थिए । उनले जापानस्थित नेपाली राजदूतावासको अवलोकनसमेत गरेका थिए ।
नेपाल र जापानबीच सन् १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सम्बन्ध स्थापना पश्चात नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौंमा आफ्ना दूतावास स्थापना गरेका थिए ।
राष्ट्रपति पौडेल आइतबार राति औपचारिक भ्रमणका लागि नेपालबाट जापान प्रस्थान गरेका थिए ।