बर्दियामा यसवर्ष गरिएको चरा गणनामा बढैयाताल बाहेक अन्य सिमसार क्षेत्रमा चराको संख्या बढेको पाइएको छ । पश्चिम नेपालकै ठूलो ताल मानिने बढैयातालमा पानी सुक्दै गएपछि जाडो छल्न आउने आगन्तुक पाहुना चराको संख्या भने घट्दै गएको छ ।
हरेक वर्ष हिउँदमा हिमाली भेग तथा साइबेरियाबाट जाडो छल्न आउने चराको संख्या घट्दै गएको अध्ययनले देखाएको छ । यद्यपि, अन्य प्रजातिका चरा घटे पनि सारसको संख्या भने बढेको पंक्षी विज्ञहरूले बताएका छन् । गत वर्ष बढैयातालमा दुई वटा मात्र सारस देखिएकोमा यसवर्ष बढेर सात पुगेको नेपाल पंक्षी विज्ञ संघका अध्यक्ष तथा जल पंक्षी गणनाका बाँके–बर्दिया संयोजक रामबहादुर शाहीले जानकारी दिए ।
तालमा हरेक वर्ष हिउँदमा देखिने सारस, कुर्मा, बगाले सिंह कुखुरा, मरुले, हुटिट्याउ, लोभीपापी, गरुड, हरिहाँस लगायत करिब १५ प्रजातिका चरा हाल प्रायः नदेखिने अवस्था रहेको छ । विगतमा ताल क्षेत्रमा झार मार्ने औषधिको अत्यधिक प्रयोग, वनभोज तथा महोत्सवका कारण हुने होहल्ला, अव्यवस्थित माछा मार्ने कार्यलगायत कारणले सिमसार क्षेत्रमा पाहुना चरा घटेको स्थानीयको भनाइ छ ।
मालपोत कार्यालयको अभिलेखअनुसार बढैयाताल करिब १०४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तर, अतिक्रमण तथा पानी सुक्दै जानुका कारण तालको अस्तित्व संकटमा पर्दै गएको स्थानीय विन्तीराम चौधरीले बताए। क्षेत्रफलका दृष्टिले यो ताल मुलुककै ठूलो तालमध्ये एक मानिन्छ ।
सायबेरियाबाट हरेक वर्ष बढैयातालमा आउने मरुल लगायतका पाहुना चरा क्रमशः घट्दै गएका छन् । पाहुना चराका लागि चितवनको बिस हजारीपछि बढैयाताल नेपालको दोस्रो ठूलो ताल मानिन्छ । तर, हाल ताल क्षेत्रमा ट्याक्टर र टिपर चल्न थालेको तथा वनभोजमा प्रयोग हुने डिजे साउण्डको ध्वनि प्रदूषणले चराको बसाइँमा असर पुगेको स्थानीय बताउँछन् ।
एशिया महादेशमा हरेक वर्ष जनवरी १० देखि २५ तारिखसम्म एकै समयमा चरा गणना गरिन्छ। यसवर्ष कर्णाली नदी आसपासका क्षेत्रमा २१ प्रजातिका ९१८ वटा चरा गणना गरिएको निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए । सोही अवधिमा गेरुवा क्षेत्रमा ३२ प्रजातिका ८२२ वटा चरा फेला परेका थिए भने बढैयातालमा ४० प्रजातिका २ हजार १४९ वटा चरा गणना गरिएको छ । यसरी बर्दियामा कुल ३ हजार ८८९ वटा चरा अभिलेख गरिएको छ ।
गतवर्ष कर्णाली क्षेत्रमा १५ प्रजातिका ८९९ वटा, गेरुवामा ३० प्रजातिका ५९३ वटा तथा बढैयातालमा १ हजार ७१२ वटा गरी कुल ३ हजार २०४ वटा चरा गणना गरिएको थियो ।