कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रिया बिथोलिन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
निर्वाचन आयोगमा टिकटकको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उनले सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग रोक्न सबै पक्षले सजगता अपनाउनुपर्ने आवश्यकता औंल्याए । उनले निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न आयोगले आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
निर्वाचन प्रयोजनका लागि टिकटकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आयुक्त भण्डारीले नेपालमा निःशुल्क तथा निष्पक्ष निर्वाचन सफल बनाउन टिकटकको सकारात्मक भूमिका महत्वपूर्ण रहेको बताए ।
उनका अनुसार निर्वाचन आयोगले आगामी निर्वाचनमा सामाजिक सञ्जाल प्लेटफर्महरूसँग समन्वय गरी गलत सूचना, भ्रामक सामग्री तथा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नियन्त्रण गर्न प्रयास गरिरहेको छ । यस सन्दर्भमा टिकटक जस्ता प्लेटफर्मबाट प्राप्त प्रतिबद्धता र सहयोगलाई आयोगले सकारात्मक रूपमा लिएको छ ।
आयुक्त भण्डारीले भने, ‘आगामी निर्वाचनमा प्रविधिको दुरुपयोग हुनु हुँदैन । दुरुपयोगले निर्वाचनलाई बिथोल्ने, संग्लिएको वातावरणलाई धमिल्याउने प्रयास हुन्छ । विश्वको नजर अहिले हाम्रो निर्वाचन र आयोगमाथि छ । टिकटकमार्फत सहयोग गर्ने प्रतिबद्धता अत्यन्तै महत्त्वपूर्ण छ ।’
विश्वव्यापी रूपमा सामाजिक सञ्जालमार्फत निर्वाचन प्रभावित हुने जोखिम बढिरहेको सन्दर्भमा निर्वाचन आयोगले प्रविधिको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्दै दुरुपयोग रोक्न कडा कदम चाल्ने तयारी गरिरहेको जनाएको छ ।
आयोगले सामाजिक सञ्जालको जिम्मेवार प्रयोगमार्फत निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको समेत स्पष्ट पारेको छ ।