पर्सा निर्वाचन क्षेत्र नम्बर १ का युवाहरुले नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जिताउन एकजुट भएर लाग्ने सामुहिक प्रतिबद्धता जनाएका छन् ।
वीरगंजमा भएको अनौपचारिक कार्यक्रममा सहभागी विभिन्न वडाका युवा र विद्यार्थीहरुले यादवको जनहितमा गरेका कामको प्रशंसा गर्दै उनको नेतृत्वलाई सकारात्मक रूपमा मूल्याङ्कन गरेका थिए । कार्यक्रममा सहभागीहरूले चुनावको मौसमी नेता नभई जनताको दुखसुख र विपत्तिमा सधैँ उपस्थित हुने नेता भएकाले आफूहरूले समर्थन गर्ने बताएका छन् ।
छलफलमा सहभागी युवा किरण गुप्ताले आफ्नो गाउँमा सडक निर्माण यादवकै पहलबाट भएको स्मरण गराउँदै उनलाई विकासमुखी नेता भएको बताए । उनले भने, “हामीले हाम्रो मत र समर्थनले उहाँलाई फेरि पर्सा–१ बाट प्रतिनिधिसभा सदस्य बनाउने प्रतिबद्धता गरेका छौँ ।”
कार्यक्रममा बोल्दै यादवले आफू केवल चुनावको मौसमी नेता नभई जनताको सुख, दुख र विपत्तिमा सधैं उपस्थित रहने नेता भएको बताए । उनले विगतमा गरेका कामले आफ्नो दाबीलाई प्रमाणित गरेको स्मरण गराउँदै खानेपानीको अभाव, हैजा र कोरोना महामारीका समयमा निरन्तर जनताको सेवामा रहेकामा गर्व व्यक्त गरे ।
यादवले युवाहरूको सशक्तीकरण, रोजगारी सिर्जना र शिक्षा क्षेत्रमा सुधार ल्याउन निरन्तर काम गर्दै आएको उल्लेख गर्दै भने, “मेरो उद्देश्य केवल निर्वाचन जित्नु होइन, तर पर्साको समग्र विकास र जनताको भलाइ सुनिश्चित गर्नु हो। युवाहरू हाम्रो समाजको भविष्य हुन्, त्यसैले उनीहरूको आवाजलाई सधैँ प्राथमिकतामा राख्नेछु ।”